गाउँमै प्राविधिक शिक्षा

2018-08-02

Ekantipur

Share this on:

अमुवा (रूपन्देही)– गाउँको विद्यालयमा पशु विज्ञानतर्फ स्नातक तहसम्मको पढाइ सुरु भएपछि विद्यार्थीको ओइरो लागेको छ । सियारी गाउँपालिका–६ मा खुलेको जनता माविमा अध्ययनका लागि सोलखुम्बुदेखि दार्चुलासम्मका विद्यार्थी आउन थालेका छन् ।

विद्यालयले सीटीईभीटीबाट स्वीकृति लिएर विद्यार्थी भर्ना सुरु गरेको छ । आफ्नै स्रोतबाट न्यून शुल्कमा अध्यापन गराउने प्राचार्य ऋषिराम घिमिरेले बताए । विद्यालयले यसअघि प्राविधिक शिक्षा (टीईएसी) अन्तर्गत कृषि र भेटरिनरी जेटीए कक्षा सञ्चालन गरेको थियो ।

'स्थानीय र समुदायकै पहलमा विद्यालयलाई प्राविधिक शिक्षाको ‘हब’ बनाउने प्रयासमा छौं,’ उनले भने, ‘अब कृषि र पशु क्षेत्रमा उच्च शिक्षा अध्ययनका लागि टाढा जानुपर्दैन ।’ प्राविधिक शिक्षामा प्रदेशकै उत्कृष्ट विद्यालय बन्ने उद्देश्यले समुदायको सहकार्यमा अध्यापन भइरहेको प्राचार्य घिमिरेले बताए ।

पहिलो वर्षका लागि विद्यालयले ४० जना भर्ना गर्नेछ । ०१८ सालमा गुरुकुलका रूपमा सञ्चालन भएर ०२४ मा प्रावि तहको स्वीकृति पाएको विद्यालयले ०६१ देखि कृषि जेटीए र ०६९ देखि टीएसएलसी लेभलको भेटरिनरी जेटीए अध्यापन गराउँदै आएको छ । अहिलेसम्म झन्डै ९ सय विद्यार्थी उत्तीर्ण भइसकेका छन् ।

अधिकांश रोजगारीमा लागिसकेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालविक्रम जीसीले बताए । ‘कोही सरकारी त कोही स्वरोजगारमा संलग्न छन्,’ उनले भने, ‘खाली बस्न नपरेपछि अहिले विद्यार्थीको चाप धान्न नसकिने भएको छ ।’ सुरुका दुई वर्ष विद्यार्थी आएनन् । त्यसपछि चाप बढ्दै गएको उनले बताए । कृषि र भेटरिनरी जेटीए अध्ययनका लागि पूर्वको सोलुखुम्बुदेखि पश्चिम दार्चुलासम्मका २९ जिल्लाका विद्यार्थी यहाँ अध्ययन गरिरहेका छन् ।

शिक्षालाई प्रयोगात्मक बनाउन विद्यार्थीले ७ मध्ये २ बिघा जग्गामा गाईगोठ, माछापोखरी, कुखुरा फार्म सञ्चालनका साथै तरकारी खेती गर्छन् । विद्यालयले भैंसीदेखि टर्कीसम्म पालेर अध्यापन गराउन थालेको शिक्षक हंसराज चौधरीले बताए । विद्यार्थीले माटो, बिरुवा परीक्षण, जनावरको सामान्य उपचार शिविर नि:शुल्क सञ्चालन गर्ने गरेका छन् ।

गाउँमै पशुको कृत्रिम गर्भाधान सेवा उपलब्ध गराएका छन् । प्राविधिक शिक्षाको अध्यापन प्रभावकारी भएपछि प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले मत्स्य जोन विकासअन्तर्गत १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको विद्यालय व्यवस्थापन समिति सदस्य नारायणप्रसाद उपाध्यायले बताए ।