बन्दले पढाइ रोकियो

2019-03-15

Ekantipur

Share this on:

- जनकराज सापकोटा-(काठमाडौं) - सरकारले प्रतिबन्ध लगाएको विरोधमा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले गरेको देशव्यापी बन्दको बढी प्रभाव शैक्षिक क्षेत्रमा परेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशबाट संकलन गरेको रिपोर्टले शैक्षिक संस्थान सबैभन्दा धेरै प्रभावित बनेको देखाएको छ । स्कर्टिङ र राजमार्ग सुरक्षा गस्ती बढाइए पनि लामो दूरीका सवारीसाधन प्रभावित बनेको प्रहरीले जनाएको छ । 

बन्दका कारण प्रदेश १ का ६० प्रतिशत शैक्षिक संस्था मात्रै सञ्चालनमा आएका थिए भने प्रदेश २ मा ७५ प्रतिशत शैक्षिक संस्था चले । प्रदेश ३, ५, ६ र कर्णाली प्रदेशका शैक्षिक संस्था फाटफुट मात्रै चलेको र गण्डकी प्रदेशका शैक्षिक संस्था ५० प्रतिशत मात्रै सञ्चालनमा आएको प्रहरी रिपोर्ट छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाको अवस्था सामान्य रहेपनि पठनपाठन भने पूर्ण रूपमा प्रभावित भयो । सबैजसो प्रदेशका छोटो दूरीका सवारीसाधन सञ्चालनमा आए पनि लामो दूरीका सवारी सञ्चालन नभएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा आएको रिपोर्टअनुसार प्रदेश १ को इलामबाट मात्रै लामो दूरीका सवारीसाधन चलेका थिए ।

प्रदेश २ बाट लामो दूरीका सवारीसाधन थोरै चले भने गण्डकी प्रदेशको कास्कीबाट काठमाडौंका लागि सवारी छुटे पनि अन्य जिल्लाबाट चलेनन् । प्रदेश ५, ६ र कर्णाली प्रदेशबाट पनि लामो दूरीका सवारीसाधन चलेनन् । बन्दको सबैभन्दा धेरै प्रभाव प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पर्‍यो । त्यहाँ लामो र छोटो दूरीका दुवै सवारीसाधन ठप्प रहे । देशैभरि बजार र कलकारखाना खुला रहेको र सार्वजनिक गतिविधि सामान्य प्रभावित बनेको प्रहरीले जनाएको छ ।

नेकपाले बन्द सफल पार्न देशैभरि विस्फोट र आगजनी प्रयास गरेको प्रहरीको रिपोर्ट छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार साँझसम्म कैलाली, कास्की, सिन्धुपाल्चोक, रौतहट, जुम्ला, स्याङजा, मकवानपुर, रुकुम पूर्व, बाग्लुङ, बाजुरा र गोर्खामा विस्फोटक पदार्थ भेटिएको थियो । कैयौं ठाउँमा नक्कली बम राखेर आतंक सिर्जना गरेको पाइएको छ ।नेकपाका कार्यकर्ताले कैलालीमा बसमाथि आगजनी गरेको तथा कपिलवस्तु, नवलपरासी र मकवानपुरमा ट्रकमा क्षति पुर्‍याएका छन् । प्रहरीले बन्द गराउने काममा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।