विद्यार्थीको संसदीय अभ्यास

2018-08-07

Ekantipur

Share this on:

हेटौंडा – माध्यमिक तहमा अध्ययनरत विद्यार्थीले संसदीय पद्धतिको अभ्यास गरेका छन् । तल्लो र माथिल्लो सदनको सत्ता पक्ष र विपक्षीका रूपमा समूह बनाएर उनीहरूले बहस गरेका हुन् । बहस यात्राअन्तर्गत भएको मकवानपुर बहसमा विभिन्न १६ विद्यालयका ३२ विद्यार्थी सहभागी थिए । तीन चरणमा हुने बहसबाट विजयी छनोट गरिएको प्रमुख निर्णायक विनोद खत्रीले जानकारी दिए । ‘वादविवाद प्रतियोगितालाई संसदीय प्रणालीअनुसार सञ्चालन गरेका हौं,’ उनले भने, ‘संसदीय अभ्यास सिक्ने र बोल्ने सीपको पनि विकास भएको छ ।’ बहसमा सहभागी गराउनुअघि उनीहरूलाई ३ घण्टा अनुशिक्षण दिइएको थियो । कुनै विषयवस्तु दिएर त्यसको पक्ष (सरकार) र विपक्ष (प्रतिपक्ष) का रूपमा बहसकर्ता प्रस्तुत हुने गरेका छन् । 

नगरस्तरीय बाल क्लब सञ्जाल आयोजना, क्लासिक ग्रुपको प्राविधिक सहयोग, हेटौंडा महानगरपालिकाको आर्थिक सहयोग र जिल्ला बाल क्लब सञ्जालको समन्वयमा उक्त कार्यक्रम भएको हो । बहसमा महेन्द्र किरण मावि प्रथम, प्रगति मावि दोस्रो, बालबोध मावि तेस्रो र जनप्रिय मावि चौथो भए । उत्कृष्ट वक्ताका रूपमा बालबोधकी नवीना गौतम प्रथम, कालिका माविका एञ्जल सत्याल दोस्रो र बालबोधकै ममता अवस्थी तेस्रो भए । विजयीलाई सभामुख सानकुमार श्रेष्ठले पुरस्कार प्रदान गरे ।