जनता क्याम्पसका विद्यार्थीले बनाए च्यवनप्राश

2019-02-17

Ekantipur


दाङ — नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता क्याम्पस बिजौरीमा आयुर्वेद उत्तरमध्यमा तहमा अध्ययनरत विद्यार्थीहरूले स्थानीय स्रोतसाधनबाट च्यवनप्राश उत्पादन गरेका छन् । पढेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यास गर्दै उनीहरूले व्यावसायिक रूपमा च्यवनप्राश बनाएका हुन् ।

दाङको बिजौरीस्थित जनता क्याम्पसका विद्यार्थीहरू स्थानीय जडीबुटीबाट उत्पादित च्यवनप्राश देखाउँदै । तस्बिर : दुर्गालाल/कान्तिपुर

मंगलबार क्याम्पसमा च्यवनप्राश सार्वजनिक गरिएको छ । विद्यार्थीहरूले डेढ क्विन्टल उत्पादन गरेको र यो बजारमा बिक्री गरिने केन्द्रीय आयुर्वेद विद्यापीठका निमित्त प्राचार्य डा. सुनीलकुमारले बताए । स्थानीय जडीबुटीबाट उत्पादित च्यवनप्राश स्वास्थ्यका लागि निकै उपयोगी भएको उनले बताए ।

‘च्यवनको अर्थ प्रसन्न हुनु वा इन्द्रियहरू आनन्दित हुनु भन्ने अर्थ हुन्छ । प्राशको अर्थ चाटेर खाने वस्तु भन्ने बुझिन्छ,’ उनले भने, ‘यो कमजोर शरीर भएका बालबालिका, युवायुवती, सुत्केरी, वृद्धवृद्धा सबैले सेवन गर्न सक्छन् ।’

यसमा सबैभन्दा धेरै मात्रा अमलाको हुने भएकाले रोग प्रतिरोधी क्षमता बढाउने उनले बताए । ‘अमला फलहरूको पनि राजा हो । यसमा भिटामिन ‘सी’ का प्राकृतिक स्रोतहरूमध्ये सबैभन्दा धेरै अंश हुन्छ,’ उनले भने, ‘यसले शरीरमा ऊर्जा दिन्छ । विद्यार्थीहरूले निकै मिहिनेत गरेर तयार पारेका छन् ।’

विद्यार्थीहरू पढेको ज्ञानलाई व्यवहारमा बदल्दै स्थानीय जडीबुटीबाट विभिन्न औषधि उत्पादन गरिरहेका छन् । जंगल र पहाडमा जाने, जडीबुटी खोज्ने, काट्ने, बोक्ने अनि क्याम्पसमा आएर प्रशोधन गर्ने काममा विद्यार्थीहरूले लामो समय खर्चेको आयुर्वेद उत्तरमध्यमा दोस्रो वर्षमा अध्ययनरत दीपाकुमारी रावतले बताइन् ।

‘गुरुहरूको प्रत्यक्ष निगरानीमा काम गर्न पाउँदा धेरै सिकाइ भयो । अब हामीलाई च्यवनप्राशको व्यावसायिक उत्पादन गर्ने आत्मबल मिलेको छ,’ उनले भनिन्, ‘जडीबुटी चिन्न र विभिन्न औषधिको मिश्रण थाहा पाउन सजिलो भएको छ ।’ अधिकांश जडीबुटी यहीं पाइने भएकाले निरन्तर उत्पादन गर्न सकिने तेस्रो वर्षमा अध्ययनरत दिनेशप्रसाद आचार्यले बताए ।

आफैं प्रत्यक्ष काममा सहभागी हुँदा धेरै ज्ञान हासिल भएको र अब आफैं उत्पादन गर्न सकिने उनले बताए । स्थानीयस्तरमा पाइने जडीबुटीबाट च्यवनप्राशका साथै त्रिफला चुर्ण, सितोपलादी चुर्ण, भुवनेश्वरी बटी, शिलाजित शोधन, चुर्णोदक, कञ्जली, पुदिना स्वरस, पारिजात कल्क, त्रिफला क्वाथ, स्फटिक भष्म, टकणं भष्म र गन्धक शोधन गरी १३ प्रकारका औषधि निर्माण भइरहेको उनले बताए । ५९ प्रकारका जडीबुटी प्रयोग गरेर च्यवनप्राश उत्पादन गरेको आचार्यले बताए ।

विद्यार्थी र क्याम्पसले व्यावसायिक रूपमा च्यवनप्राश उत्पादन गर्न थालेमा यसको बजारीकरणमा सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । 

‘हामी उत्पादनमा चाहिने स्रोतसाधन खरिदका साथै उत्पादित वस्तुको बजारीकरण गरिदिन्छौं,’ उनले भने, ‘सुत्केरीलाई उपहारका रूपमा यही च्यवनप्राश वितरण गर्ने व्यवस्था मिलाउँछौं ।’ वनस्पतिउद्यान निर्माण गरी नियमित औषधि उत्पादनको वातावरण बनाउन उपमहानगरपालिका तयार रहेको पाण्डेले बताए ।

आयुर्वेद पूर्वीय दर्शनको महत्त्वपूर्ण पक्ष भएकाले यसका सूत्रबाट उत्पादित औषधिको मानवीय जीवनमा निकै महत्त्व रहेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन डा. सञ्जय पोखरेलले बताए । 

विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलापमा निपुण बनाउन व्यावहारिक सिकाइमा ध्यान दिइएको उनले बताए ।

विस्तारै आयुर्वेदप्रति विश्वास बढ्दै गएको नागरिक समाजका पूर्वअध्यक्ष टीकाराम रेग्मीले बताए । च्यवनप्राश उत्पादनबाट विद्यार्थीलाई सक्षम बनाउन सहयोग पुगेको क्याम्पस प्रमुख माधव अधिकारीले बताए । अब यसको गुणस्तर परीक्षण गरी सबैतिर पठाउने योजना रहेको उनले बताए ।