भर्नाको दिन विद्यार्थीले किताब नपाउने

2019-04-15

Ekantipur


चैत्र ३०, २०७५, हरि गौतम, रुकुम पश्चिम — बैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । विद्यार्थी भर्ना गरेर शैक्षिक सत्र सुरु गर्ने तयारीमा विद्यालय छन् । विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक दिने तयारी पनि विद्यालयको छ । तर जिल्लाका अधिकांश विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउन नसक्ने भएका छन् ।

किनभने जिल्लाका केही बाहेक अधिकांश विद्यालयले नयाँ शैक्षिक शत्रको लागि पाठ्यपुस्तक नै खरिद गरेका छैनन् । यतिबेला पुस्तक पसलहरूमा भीडभाड हुने बेला हो । पाठ्यपुस्तक किन्न विद्यालय तथा विद्यालयका प्रतिनिधि आउनुपर्ने हो । तर जिल्लास्थित विभिन्न पुस्तक पसल सुनसान छन् । विद्यार्थी भर्ना अभियान तथा नयाँ शैक्षिक शत्र सुरु भएकै दिन विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक दिने भनिए पनि अब त्यसको सम्भावना टरिसकेको छ ।

‘कतिपय विद्यालयले २ गते नै विद्यार्थीलाई पाठ्यपुस्तक दिन सक्छन्, तर सबैले दिन सक्ने अवस्था देखिएन,’ नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमका अध्यक्ष लोकबहादुर केसीले भने, ‘पाठ्यपुस्तक आइसके पनि धेरै विद्यालयमा पुग्न बाँकी देखियो ।’ उनले विद्यार्थी भर्ना अभियान, तथा शैक्षिक शत्र सुरु भएकै दिन राम्रो सन्देश दिनलाई पनि भर्ना हुने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक दिनुपर्ने बताए । रजिष्टरमा नाम चढाएपछि नयाँ पाठ्यपुस्तक दिने तयारीमा सबै विद्यालय भए पनि सुरुकै दिन भने त्यो सम्भव नदेखिएको उनको भनाइ छ ।

जिल्लास्थित विभिन्न पुस्तक पसलले पाठ्यपुस्तक ल्याइसकेका छन् । तर पाठ्यपुस्तक विक्री भने भएको छैन । ‘फाट्टफुट्ट विद्यालयले मात्रै पाठ्यपुस्तक लिएका छन्,’ सानीभेरी पुस्तक पसलका सञ्चालक नैनसिङ ओलीले भने, ‘अरु विद्यालय पनि आउदै होलान्, आइसकेका भने छैनन् ।’ विद्यालयहरूले विद्यालय सञ्चालन भएदेखि नै पाठ्यपुस्तक किन्ने विद्यालयको पूरानै चलन भएको ओलीेले बताए ।

विद्यालय पाठ्यपुस्तकका लागि सम्पर्कमा आए पनि पाठ्यपुस्तक खरिद भने थोरै विद्यालयले गरेको ओलीले बताए । उनले बैशाख आधाउधीसम्म सबै विद्यालयले पाठ्यपुस्तक खरिद गरिसक्ने बताए । जिल्लाका मुसीकोट र त्रिवेणि गाउँपालिकाका लागि आवश्यक पाठ्यपुस्तक सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । सानीभेरी गाउँपालिकामा भर्ना अभियान सञ्चालनकै क्रममा पाठ्यपुस्तक आइपुग्ने जनाइएको छ ।

आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा आधारभुत तहको पाठ्यपुस्तक पुगिसकेको छ भने अरु पनि पुग्ने क्रममा रहेको जनाइएको छ । चौरजहारीका ४१ मध्य ५ विद्यालयले मात्रै पाठ्यपुस्तक लिएका छन् । अरुले लिन आएका छैनन् । पाठ्यपुस्तक आइसकेको र अबको २ दिन भित्रै सबै विद्यालयमा पुर्‍याउनेगरी काम भइरहेको व्यवसायी खुमबहादुर खडाले बताए । भर्ना अभियानलाई लक्षित गरी सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने दावी उनको छ ।

यसपटक सबै स्थानीय तहले पाठ्यपुस्तक खरिदको रकम समयमै विद्यालयको खातामा पठाइदिएको दावी गरेका छन् । समयमै पाठ्यपुस्तक खरिदको रकम विद्यालयमा पठाइसकिएकाले पाठ््यपुस्तक समयमै पुग्ने दावी उनीहरूको छ । बाँफिकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख लालसिङ खडाको गत फागुन महिनामै पाठ्यपुस्तक खरिदको रकम विद्यालयमा पठाइ सकिएकाले पाठ्यपुस्तक पनि विद्यालयमा पुगेको हुनुपर्ने बताए ।

‘हामीले समयमै पाठ्यपुस्तक खरिद होस् भनेर समयमै पैसा विद्यालयको खातामा पठाइदिएका हौं,’ खडाले भने, ‘त्यसैले हाम्रो विश्वास केहो भने पाठ्यपुस्तक पनि विद्यालयमा पुगिसकेको होला ।’ उनले भर्ना अभियान सुरु भएकै दिनदेखि विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक दिन भनेर विद्यालयलाई भनिसकिएको जनाए ।