पढ्दै कमाउँछन् विद्यार्थी

2019-04-16

Ekantipur

Share this on:

वैशाख २, २०७६, हरि गौतम, रुकुम पश्चिम — सरस्वती जैसी चौरजहारी नगरपालिका ११, खोलागाउँस्थित हिमालय माविको प्राविधिक धारअन्तर्गत कृषि जेटीए अध्ययन गरिरहेकी छन् । उनी नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिन्छिन् नै, विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उनको सहभागिता हुन्छ ।

उनलाई यतिले मात्रै पुगेको छैन । विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै आफैं थप प्रयोगात्मक कार्य गर्दै आएकी छन् । उनी बेमौसमी तरकारी तथा कुखुरापालन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहेकी छन् । प्राविधिक धारअन्तर्गत तीनवर्षे बाली विज्ञानको पहिलो वर्षमा पढ्ने मीनबहादुर केसी पनि विद्यालयले दिने सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षामा नियमित सहभागी हुन्छन् । केसीले नछुटाउने अर्को कक्षा पनि छ, व्यावहारिक कक्षा । उनी पनि अन्य साथीभाइसँगै मिलेर बेमौसमी तरकारीका साथै कुखुरापालन गरिरहेका छन् ।

जैसी र केसीमात्रै होइन, उक्त विद्यालयको प्राविधिक धारका ८० विद्यार्थी पढाइका साथसाथै व्यावसायिक व्यावहारिक अभ्यासमा व्यस्त छन् । विद्यालयको सैद्धान्तिक र प्रयोगात्मक कक्षापछिको फुर्सदको समय उनीहरूले कृषि कर्ममा लगाउन थालेका छन् । ‘हामीले जे पढ्दै र सिक्दै छौं, त्यसको व्यावहारिक रूपमा कार्यान्वयन पनि गरिरहेका छौं,’ जैसीले भनिन्, ‘सिक्दै काम गर्दा अरू प्रभावकारी हुने देखियो ।’ विद्यालय आसपासका जग्गा भाडामा लिएर विद्यार्थीले पढाइसँगै आम्दानी गर्न थालेका छन् । उनीहरूले उत्पादन गरेको एक सय आठ किलो च्याउ बिक्री भइसक्यो ।

प्रतिकिलो दुई सयका दरले विद्यार्थीले यसबाट २१ हजार ६ सय रुपैयाँ कमाए । ‘चौरजहारी नगरपालिकाको कृषि शाखाले निःशुल्क बीउ दिएको थियो,’ जैसीले भनिन्, ‘त्यसैबाट उत्पादित पहिलो पटकको च्याउ बिक्री गरिसक्यौं, त्यसबाट भएको आम्दानी जम्मा गरेका छौं ।’ आफैंले पढ्दै गरेको विषयमा काम गर्दा रमाइलो हुने अनुभव उनको छ ।

‘आफूले जे पढिरहेका छौं, त्यही काम गर्न सुरु गरियो, आम्दानी पनि हुन लागेको छ,’ केसीले भने, ‘पढ्दै काम गर्दा सजिलो र रमाइलो हुने रहेछ ।’
प्राविधिक धारतर्फका ८० विद्यार्थीले ६ समूह बनाएर तरकारी खेती र कुखुरापालन गरेका हुन् । सुरुमा ६ समूहले २६ पोकाका दरले एक सय ५६ पोका च्याउ लगाएर उत्पादन सुरु गरेका थिए । विद्यार्थीले जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेका हुन् । विद्यालयको दुई हजार सात सय वर्गमिटर जग्गा र दुई रोपनी जग्गा भाडामा तरकारी लगाएका छन् ।

वार्षिक १० हजार भाडा तिर्ने गरी स्थानीयको दुई रोपनी जग्गामा पनि तरकारी खेती सुरु भएको विद्यालयका कृषि प्रशिक्षक उदयराम ओलीले बताए । जग्गाको भाडा भने विद्यालय आफैंले तिरिदिने भएको छ । विद्यार्थीलाई उत्पादनमा जोड्न र सिकेको कुरा कार्यान्वयनका लागि हौसला प्रदान गर्न जग्गा भाडामा लिएर तरकारी खेती व्यवस्थापनको काम गरिदिएको ओलीले बताए ।

सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञान दिने पहिलो उद्देश्यले विद्यार्थीलाई खेती गर्न प्रेरित गरिएको हो,’ ओलीले भने, ‘त्यसबाट हुने आम्दानी विद्यार्थीकै हुन्छ ।’ विद्यार्थीको उत्पादनले बजार पाउन समस्या नहुने प्रअ भीमबहादुर ओलीले बताए । उनका अनुसार नगरपालिकाले पनि बिक्रीका लागि सघाउने भएको छ । पहिलो चरणको च्याउ बिक्री गरिसकेका विद्यार्थीले टमाटर, करेला, भिन्डीलगायत उमारिसकेका छन् ।