विद्यार्थी भर्ना अभियान सुरु

2019-04-16

Gorkhapatra


काठमाडौँ, वैशाख ३ गते:  विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ ।

सङ्घीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारा तय गरेको छ । विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा गइसकेकाले कतिपय स्थानीय तहले विद्यार्थी अभियानका लागि आफ्नो छुट्टै नारा तय गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले पाँचदेखि नौ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ९१ हजार पाँच जनालाई विद्यालयमा ल्याउने लक्ष्य लिइएको जानकारी दिनुभयो । गत वर्ष सो उमेर समूहका दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइएको थियो ।

गत वर्ष विद्यालय बाहिर रहेकाहरुको अभिभावकत्व ग्रहण गर्ने गरी तामझामका साथ विद्यार्थी भर्ना अभियान थालिएको थियो, तर यस वर्ष त्यस्तो खासै योजना ल्याइएको छैन । उहाँले स्थानीय तहले नै विभिन्न योजना ल्याउन सक्ने उल्लेख गर्दै त्यसैले यस वर्ष सङ्घीय सरकारले त्यससम्बन्धी कार्यक्रम नल्याएको बताउनुभयो ।

अभिभावकलाई प्रशंसापत्र
कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रारम्भिक बालविकास र कक्षा १ मा आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न ल्याउने सबै अभिभावकलाई प्रसंशापत्र प्रदान गर्ने भएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले आफ्ना छोराछोरी, नातिनातिना वा संरक्षकत्व ग्रहण गरेका फलानो बालबालिकालाई विद्यालयमा भर्ना गर्नुभएकोमा सधन्यबाद प्रशंसापत्र प्रदान गरिएको भनी प्रमाणपत्र दिइने बताउनुभयो ।

सोही नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीले कक्षा १ मा भर्ना भएका सबै बालबालिकालाई निःशुल्क झोला उपलब्ध गराउने योजना रहेको बताउँदै सबैभन्दा बढी विद्यार्थी भर्ना गराउने विद्यालय र शिक्षकलाई पुरस्कार प्रदान गरिने बताउनुभयो । सो नगरपालिकामा करिव तीन हजार बालबालिकालाई कक्षा १ मा भर्ना गर्ने योजना छ ।

निःशुल्क पोशाक
बर्दियाको बाँसगढी नगरपालिकाले विद्यालयमा भर्ना हुन आउने कक्षा १ का सबै बालबालिकालाई निःशुल्करुपमा पोशाक उपलब्ध गराउने भएको छ ।
सो नगरपालिकाका प्रमुख शालीग्राम अधिकारीले सबैभन्दा बढी विद्यार्थी भर्ना गराउने विद्यालयलाई पुरस्कार प्रदान गर्ने योजना रहेको बताउँदै यसले गर्दा बढीभन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्न विद्यालयबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको बताउनुभयो ।

जनप्रतिनिधि घरघरमा
भक्तपुरको सूर्यविनायक नगरपालिकाका निर्वाचित जनप्रतिनिधि नयाँ विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रममा सहभागी हुने भएका छन् ।
नगरपालिका प्रमुख वासुदेव थापाले सघनरुपमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको जानकारी दिँदै भन्नुभयो, “हरेक दिन जनप्रतिनिधि घरदैलोमा शिक्षकसँगै हिड्ने छन् । भर्नाका बेलामा पनि उनीहरु विद्यालयमा रहनेछन् ।”

पर्याप्त पाठ्यपुस्तक

जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि १० सम्मका दुई करोड १७ लाख थान पाठ्यपुस्तक छपाइ गरी जिल्लामा पठाइसकेको छ । केन्द्रका प्रवन्ध सञ्चालक महेश तिमिल्सिनाले पर्याप्त सङ्ख्यामा पाठ्यपुस्तक छपाइ गरिएकाले अभावका समस्या नहुने दावी गर्नुभयो । गत वर्ष एक करोड ५८ लाख थान पाठ्यपुस्तक छपाइ गरिएको थियो ।

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक रङ्गीन छपाइ गरिएको छ । त्यस्तै अङ्ग्रेजी माध्यममा पनि पाठ्यपुस्तक छपाइ गरिएको छ । “सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छन्” उहाँले भन्नुभयो, “त्यसैले त्यस्ता विद्यालयहरुका लागि अङ्ग्रेजी माध्यममा पनि पाठ्यपुस्तक तयार गरी छापिएको छ । कक्षा १ देखि १० सम्मका सबै विषयको पाठ्यपुस्तकलाई अङ्ग्रेजीमा पनि उपलब्ध गराइएको छ ।”