सामुदायिक विद्यालयमा ‘सिल्भर भोलेन्टियर’

2018-10-11

Ekantipur

Share this on:

काठमाडौं (कास)– सामुदायिक विद्यालयको गुणस्तर सुधार्न काठमाडौं महानगरपालिकाले ‘सिल्भर भोलेन्टियर’ परिचालन गर्ने निर्णय गरेको छ । महानगरको सहरी योजना आयोग र शिक्षा विभागद्वारा सोमबार सञ्चालित सामुदायिक विद्यालयको शिक्षाको स्तरोन्नति गर्न सुझाव संकलन कार्यक्रमपश्चात उक्त निर्णय गरिएको महानगरले जनाएको छ ।

‘सिल्भर भोलेन्टियर (वरिष्ठ स्वयंसेवक) परिचालनपछि सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउने महानगरको अपेक्षा छ । यस योजनाअनुसार वातावरण, प्रशासन, शिक्षा, स्वास्थ्य, लेखाजस्ता विषय वा क्षेत्रमा कार्य गरेर निवृत्त भएकालाई अध्यापनका लागि सरकारी विद्यालयमा पठाइनेछ ।

सहरी योजना आयोगले यसको तयारी सुरु भइसकेको र दसैंपश्चात परिचालन गरिने बताएको छ । उक्त कार्यक्रम अनुभव र सिकाइ साट्ने राम्रो मौका हुनेछ । साढे २ सयदेखि ३ सयसम्मका यस्ता स्वयंसेवी शिक्षकलाई विद्यालयको जानकारीपश्चात शिक्षणका लागि पठाइने विभागले जनाएको छ ।

महानगरभित्र ९१ सामुदायिक र ६ सयभन्दा बढी संस्थागत तथा निजी विद्यालय छन् । सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावकको रुचि घट्दै गएको र भर्ना संख्या न्यून हुँदै गएपछि महानगरले यो योजना अगाडि सारेको हो । सुझाव संकलन कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विज्ञको उपस्थिति थियो ।