मर्यादित बन्दै एसईई

2019-03-27

Ekantipur


कान्तिपुर संवाददाता, संखुवासभा — एसएलसीमा बोराका बोरा चिट, गेस पेपर र गाइडहरू मूल गेटमै प्रहरीको सहायतामा खोसिन्थो । सदरमुकाम खाँदबारीको हिमालय माविको प्रवेशद्वारमा परीक्षा सुरु भएको दिन प्रहरीलाई अभिभावकको भीड हटाउन हम्मे हुन्थ्यो ।

तर, बितेको दुई वर्षबाट भीड कम हुँदै गएको छ । आफ्नो छोराछोरीलाई चिट चोराउने अभिभावक र शिक्षकको भीडले चोक भरिएको हुन्थ्यो । फोटोकपी व्यवसायीलाई पनि भ्याइनभ्याइ हुन्थ्यो । तर यसपटक आइतबार सुरु भएको एसईई परीक्षामा केही वर्ष अघिसम्म भीडभाड हुने चोक सुनसान बनेको थियो । एसईईमा राम्रो अंक आए प्राविधिक शिक्षा पढाउन अभिभावकलाई सहज हुने भएकाले चिट चोरेर छोराछोरी पास हुनुपर्छ भन्ने मानसिकता हटेको महेन्द्र माविका प्रधानाध्यापक मेदीनी घिमिरेले बताए ।

‘विद्यार्थीबीच प्रतिस्पर्धाको भावना आएकाले अब उच्च शिक्षाका लागि छोराछोरीलाई सानै कक्षादेखि मेहनत गराउनुपर्छ भन्ने अभिभावकले बुझेका छन्, उनले भने, अब ग्रेडिङ प्रणालीमा रिजल्ट आउने भएकाले पनि परीक्षा मर्यादित बन्दै गएको छ ।परीक्षा दिन आएका विद्यार्थी होहल्ला र कोलाहलबाट टाढै बस्न चाहन्छन्, उनले भने, ‘त्यही भएर हामीले छेउछाउमा समूह बनाएर बस्ने अभिभावकलाई पनि हटाएका छौं । शान्त र मर्यादित ढंगले परीक्षा भइरहेको उनले बताए ।

‘विगतका परीक्षालाई सम्झँदै हिमालय माविका प्रधानाध्यापक वीरबहादुर राई भन्छन्, ‘सानै कक्षाबाट विद्यार्थीलाई मेहनत गराउन सके राम्रो नतिजा ल्याउन सकिन्छ ।’ पहिलेका र अहिलेका विद्यार्थीमा अकाशजमिनको फरक छ, उनले भने, अहिलेका बिद्यार्थी मेहनती छन् ।’

‘इन्टरनेटको सुविधा भएकाले पनि विद्यार्थीहरू प्रतिभाशाली बन्दै गएको भेटेका छौं, उनले भने, शिक्षकले पढाएको विषयलाई इन्टरनेटमा खोजेर अझै बुझ्ने र जान्ने हुन थालेका छन् । पहिले एसएलसी परीक्षा चोरेरै पास गर्नुपर्छ भन्ने मान्यता अभिभावक र विद्यार्थीमा थियो, उनले भने, त्यस बेला विद्यार्थीहरू मेहनतभन्दा पनि चोर्नतर्फ लाग्थे, अहिले परिश्रम गर्न थालेका छन् ।

‘हामी मूल गेटमा परीक्षार्थीको शरीर सुरक्षाकर्मीको सहयोगमा चेक गर्छौं, पहिले गेसपेपर र गाइड प्रशस्तै खोस्नु पर्‍र्यो, उनले भने, अहिले सामान्य चेकजाँच गर्दा पनि भेटिँदैन ।’ विगतका परीक्षामा चिट नियन्त्रण गर्न प्रहरीले मात्र नपुगेपछि शसस्त्र प्रहरीको पनि सहयोग आवश्यक पर्ने गरेको थियो । चिट नचोरी पास भइँदैन भन्ने मानसिकता हटेको उनले बताए ।

जिल्ला परीक्षा समितिले पनि अनुगमन गर्दा बोराका बोरा विद्यार्थीहरूबाट चिट, गेसपेपर र गाइड परीक्षार्थीबाट खोस्थे । आइतबार र सोमबार भएको परीक्षामा जिल्लामा कुनै विद्यार्थीको परीक्षा रद्द गर्न नपरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । परीक्षा मर्यादित बन्दै गएको पायौं, उनले भने, ‘शान्त र भयरहित तरिकाले परीक्षा भइरहेका छन्, विद्यार्थीहरूलाई लेखेर पास गर्नुपर्छ भन्ने पायौं ।’

यो वर्षको एसईई परीक्षामा १९ जना अनुपस्थित भएका छन् । २ हजार ६ सय ३१ जना परीक्षामा सहभागी भएको शिक्षा कार्यालयले जनाएको छ । परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी सहभागी छन् । १ हजार २ सय ४१ छात्र र १ हजार ३ सय ७४ जना छात्रा सहभागी भए । पुराना १३ र नयाँ ३ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिइका छन् ।

यो जिल्लामा एसईईका लागि १५ वटा परीक्षा केन्द्र तोकिएको छ । दुईवटा प्राविधिक विद्यालय पनि पहिलो एसईईमा सामेल भए । जिल्लाका सबै एक्जाम्टेड विद्यार्थीका लागि सदरमुकामको हिमालय मावि र प्राविधिक विद्यालयको बागेश्वरी माविमा केन्द्र तोकिएको छ । दुई विषयको परीक्षा सम्पन्न हुँदासम्म कुनै पनि केन्द्रका केन्द्राध्यक्ष र निरीक्षक कारवाहीमा नपरेको उनले बताए ।

आमा छोरा सहभागी

सरस्वती मावि चैनपुरमा आमा दुर्गामाया तामाङ र छोरा सोनाम तामाङले एउटै केन्द्रबाट परीक्षा दिइरहेका छन् । पढाइलाई उमेरले छेक्दैन भन्ने उक्तिलाई व्यवहारमा उतार्दै शारदा मावि पोखरीमा अध्ययनरत आमा छोरा चैनपुर केन्द्रबाट परीक्षामा सामेल भएको केन्द्राध्यक्ष गोविन्दमान तामाङले जानकारी दिए ।

सानै उमेरमा विवाह गरेपछि उनले पढ्न पाएकी थिइनन् । १४ वर्षपछि शारदा माविमा कक्षा ९ मा भर्ना भएर पढ्न थालेको उनले बताइन् । दुई वर्षअघि छोरासँगै विद्यालय भर्ना भए, उनले भनिन्, ‘त्यसपछि उसँगै पढ्न थाले र अहिले परीक्षामा सामेल भए ।’ १६ वर्षपछि छोरासँगै एसईई दिन पाउँदा ढंग छिन् । १५ परीक्षा केन्द्रमध्ये बागेश्वरी मावि ढुङ्गेधारामा प्राविधिकतर्फ ७१ जना, इन्जिनियरिङमा ३० जना र बाली विज्ञानमा ४१ जना परीक्षार्थीहरू सम्मिलित भएका छन् ।