ठडिँदै दुर्गमका विद्यालय

2019-03-27

Annapurna Post


मनीष दुवाडी, लापा (धादिङ) : भूकम्प गएयताको ३ वर्ष टहरा, टेन्ट र आकाशमुनी बस्न बाध्य लापाका विद्यार्थी अहिले नयाँ भवनमा बस्न थालेका छन्। उत्तरी धादिङको विकट रुवीभ्याली गाउँपालिकाको लापाका विद्यालय भवन खच्चड तथा मान्छेले निर्माण सामाग्री बोकेर बनाइएका हुन्।

सदरमुकाम धादिङवेशीबाट एक दिन गाडीमा र एक दिन पैदल हिँडेपछि पुगिने रुवीभ्याली गाउँपालिकाअन्तर्गतका ५ वटा विद्यालय पुनर्निर्माण गरिएका छन् भने ५ वटा निर्माणधीन छन्।

हिउँदमा हिमपात र बर्खामा पानी र हुरीबतासको समस्या झेल्दै अध्ययन गरिरहेका विद्यार्थी नयाँ भवन पाएपछि दंग छन्। स्थानीय अभिभावक सोनाम तामाङले भने, ‘भूकम्पपछि विद्यालयको पठनपाठन साह्रै विजोग थियो, हिमाली ठाउँ, चिसो हावा खुल्ला टहरामा राखेर पठनपाठन गराउँदा चिसोले सताउँथ्यो, निमोनियाको समस्या थियो तर अहिले भवन बनेपछि धेरै सहज भएको छ।’

साविकको लापा गाविस रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङ र जिल्ला सदरमुकामसँग सडक सञ्जालले जोडिएको छैन। भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि आवश्यक पर्ने सबै निर्माण सामाग्री खच्चड र मानिसले नै बोकेर ढुवानी गरेका थिए। पुनर्निर्माण सम्पन्न भएको रुप्टुङदेवी आधारभूत विद्यालय लापाका व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले भने, ‘हामीसँग बोकेर ल्याउनुको अर्को विकल्प पनि थिएन। विद्यालय निर्माण गर्दा छड, सिमेन्ट, बालुवा जस्तापातालगायतका सबै निर्माण सामाग्री स्थानीय अभिभावकलाई ज्याला दिएर र खच्चडलाई बोकाएर ढुवानी गरेका हौं।’

विद्यालय भवन पुनर्निर्माण भएपछि बालबालिका नियमित रूपमा विद्यालय आउने गरेको रुप्टुङदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मिम्वा तामाङले बताए। ‘भूकम्पपछि अभिभावकले जन श्रमदान गरी टहरा बनाए पनि त्यहाँ पठनपाठन असहज थियो’, तामाङले भने, ‘भवन बनेसँगै सुविधा सम्पन्न डेस्क बेच्नसहित बालमैत्री कक्षा कोठा बनाइएका छन्। स–साना बालबालिका पनि नियमित विद्यालय आउन थालेका छन्।’

लापामै क्रियाशील नमस्ते ग्रामीण विकास समाज र युनाइटेड मिसन टु नेपालको साझेदारीमा २ करोड ८६ लाख खर्चेर ५ वटा विद्यालय भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ।

विद्यालय भवन हस्तान्तरणका लागि लापा पुगेका जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले सुविधासम्पन भवन पाएपछि अब पठनपाठनमा सुधार गर्न शिक्षक तथा अभिभावकलाई सुझाव दिए।

नेपालले भने, ‘भौगोलिक रुपले विकट भएकाले विकासका सवै पूर्वाधारको विकास गर्न लापामा त्यति सहज छैन, यति विकट ठाउँमा पनि विद्यालय पुनर्निर्माण भइसकेका छन्।’

२०७२ को भूकम्पका कारण धादिङका ४ सय ६५ विद्यालयको ३ हजार ७ सय २५ कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। संघ संस्थाको सहयोग र जिल्ला आयोजना कार्यान्वयन इकाइको समन्वयमा ६० प्रतिशत विद्यालय बनिसकेका छन्।