विद्यालय जोखिममा

2018-08-09

Ekantipur

Share this on:

रामेछाप (कास)– विद्यालय क्षेत्रमा जताततै पहिरो जान थालेपछि गोकुलगंगा गाउँपालिकाको कैलेश्वर मावि जोखिममा परेको छ । स्कुलका दुवै भवन पहिरोको चपेटामा छन् ।


धेरै विद्यार्थीलाई राखेर पठनपाठन हुँदै आएको चारकोठे भवनभन्दा माथिबाट झरेको पहिरोले कुन दिन ठूलो घटना घट्ने भन्ने त्रास बढेको विद्यालयकी लेखापाल मायादेवी सुनुवारले बताइन् । उनका अनुसार पाखै चिरिएर फाटेकाले झर्ने निश्चितजस्तै छ ।


अर्को दुईकोठे भवन र शौचालयसमेत जोखिममा छन् । भवन र शौचालयलाई तलदेखि पहिरोले तान्न थालेको छ । बालबालिकालाई शौचालय जानै समस्या परेको उनले सुनाइन् ।


कैलेश्वर माविमा २ सय ५६ विद्यार्थी अध्ययन छन् । विद्यालय क्षेत्र जोखिममा परेपछि स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएको प्रशासनले जनाएको छ । तर जनप्रतिनिधि उक्त स्थानमा पुगेका छैनन् । सुनुवारका अनुसार उक्त क्षेत्रमा लगातार वर्षा भइरहेको छ । ‘पानी थामिएको छैन, पहिरो अझै बढ्लाजस्तो छ,’ उनले भनिन् ।


भारी वर्षाकै कारण यसै वर्ष निर्माण भएको फर्पु मावि पनि पहिरोको जोखिममा छ । प्रअ राजकुमार खडकाका अनुसार विद्यालय भवनभन्दा तलबाट पहिरो फुटेपछि उच्च जोखिममा परेको जानकारी सम्बन्धित निकायलाई गराइसकिएको छ ।