विद्यालय स्रोतव्यक्ति हटाइने

2019-02-15

Ekantipur


काठमाडौं (कास)– सरकारले मुलुकभरका सामुदायिक विद्यालयमा रहेका स्रोत व्यक्तिलाई हटाउने भएको छ । एक हजार ५३ वटा स्रोत केन्द्रका स्रोतव्यक्ति हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको जानकारी शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दिए । 
मन्त्रिपरिषदले उक्त प्रस्ताव पास गरे स्रोतव्यक्ति स्वत: हट्नेछन् । मुलुकभरका सामुदायिक विद्यालयको रेखदेख र अनुगमन गर्न शिक्षाका परियोजनाअन्तर्गत सरकारले स्रोतव्यक्तिको अवधारणा ल्याएको थियो जसमा ७५ जना करारमा नियुक्त छन् भने बाँकी माध्यमिक तहका स्थायी शिक्षकमध्येबाट नियुक्त भएका हुन् ।

मन्त्रालयले करारमा नियुक्त स्रोतव्यक्तिलाई सुविधासहित बिदाइ गर्ने प्रस्ताव गरेको छ । अस्थायी शिक्षकसरह सुविधा दिएर बिदाइ गर्ने कार्ययोजना प्रस्ताव गरिएको हो । शिक्षकबाट स्रोतव्यक्ति बनेकाहरू भने पुन: शिक्षणमै फर्कनुपर्ने हुन्छ । माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा गएकाले स्रोतव्यक्ति राख्नु औचित्यपूर्ण नहुने शिक्षामन्त्री पोखरेलले बताए । ‘स्थानीय तहले चाहे र आवश्यक ठाने नियुक्त गर्न सक्छन्,’ उनले भने, ‘संघीय सरकार मातहतचाहिँ स्रोतव्यक्ति चाहिँदैन ।’

देशभर कार्यरत स्रोतव्यक्तिले भने सरकारी तयारीको विरोध गरेका छन् । स्थानीय तहमा शिक्षाको कर्मचारी अभाव हुँदा स्रोतव्यक्तिलाई नै जिम्मेवारी दिइएको छ । शिक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा उनीहरूलाई खटाएको थियो । शिक्षकबाट स्रोतव्यक्ति चुनिएका विद्यालयमा सट्टा शिक्षक नियुक्त गरिएको छ । स्रोतव्यक्ति पुन: फर्कंदा सट्टा शिक्षक घर फर्कनुपर्ने अवस्था आउँछ । शिक्षा मन्त्रालयअन्तर्गत एक हजार ५३ वटा स्रोत केन्द्र बनाएर उनीहरूलाई आफ्नो केन्द्रभित्रका विद्यालयको अनुगमन र निरीक्षण गर्ने जिम्मेवारी दिइएको थियो । शाही शासनकालमा स्रोतव्यक्ति हटाइएका थिए । लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि उनीहरू पुन: बहाली भएका थिए ।