बीपी प्रतिष्ठानका उपकुलपति नहटाउन आदेश

2019-03-27

Ekantipur


- कान्तिपुर संवाददाता, सुनसरी (कास)– सर्वोच्च अदालतले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदबाट नहटाउन मंगलबार अन्तरिम आदेश जारी गरेको छ । उपकुलपतिबाट रौनियारलाई हटाउने निर्णय कानुनसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मीरा खडकाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

स्वास्थ्यमन्त्री तथा सहकुलपति उपेन्द्र यादवको अध्यक्षतामा गत फागुन १७ गते बसेको प्रतिष्ठानको सञ्चालक परिषद् सिनेट बैठकले पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही सिफारिसका आधारमा उक्त निर्णयलाई फागुन २६ गते सदर गरेका थिए । रौनियारले आफूविरुद्ध स्वास्थ्यमन्त्रीले एकपक्षीय निर्णय गरेको भन्दै चैत ३ गते सर्वोच्च अदालतमा रिट दिएका थिए ।