चार हजार ६४७ विद्यालय पुनःनिर्माण

2019-06-11

RSS


हालसम्म भूकम्प प्रभावित चार हजार ६४७ विद्यालयको पुनःनिर्माण सम्पन्न गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्था विषयक छलफल कार्यक्रममा एक हजार ६१५ विद्यालय बनिरहेका जानकारी दिइयो ।

प्रभावित ३९८ विद्यालय निर्माणका लागि छनोट मात्र भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । भूकम्पले २१ हजार १६९ कक्षा कोठा पूर्ण रुपमा, १२ हजार ५२२ अधिकरुपमा र १५ हजार ९९० कक्षा कोठा आङ्शिक रुपमा क्षति भएका थिए । क्षति भएकामध्ये ३७० विद्यालय मर्ज भइसकेका छन् ।

कार्यक्रममा एकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठले जग्गा नभएका विद्यालयमा पुनःनिर्माणमा समस्या भएको बताउनुभयो । यस्ता विद्यालय भवन बनाउन स्थानीय सरकारले सार्वजनिक जग्गाको अनुमति दिए पुनःनिर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

ढुङ्गा माटाको भूकम्प प्रतिरोधी विद्यालय भवन पनि बनाउन सकिने गरी नयाँ मापदण्ड आउने तयारी अन्तिम चरणमा पुगेको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । एकाइका वरिष्ठ डिभीजनल इञ्जिनीयर दिलीप श्रेष्ठले ८० प्रतिशत विद्यालय व्यवस्थापन समितिबाटै बनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । विद्यालय भवन पुनःनिर्माणमा राष्ट्रिय भवन संहिता अनिवार्य रुपमा पालना गरिएको उहाँले सुनाउनुभयो ।

विद्यालय भवन पुनःनिर्माण भइरहेका बेला प्राविधिकबाट निरन्तर निरीक्षण गराइएको एकाइले जनाएको छ । विद्यालय भवन ढलानका बेला विशेष ध्यान दिइएको छ । पाकिस्तानमा भूकम्ले ढलान झर्दा धेरै विद्यार्थीको दुःखद् निधन भएकाले त्यसको पाठले ढलान अझ बलियो बनाउन निर्देशन दिइएको छ । सो अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक एवं व्यवस्थापन समितिका अध्यक्षले आइपरेका समस्या समाधानको पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।