पूर्वाञ्चल विश्वविद्यालयमा खुल्यो ताला

2019-03-27

Ekantipur


- कान्तिपुर संवाददाता, विराटनगर (कास)– सरकारले पदाधिकारी नियुक्ति बदर र खुला प्रतियोगितात्मक परीक्षा स्थगित गरेपछि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकले साढे २ महिनाअघि लगाएको ताला सोमबार साँझ खुलेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले पुस अन्तिम साता सहरजिस्ट्रार र दुई सहडिन नियुक्ति गरेपछि प्राध्यापकहरूले उपकुलपति, रजिस्ट्रार र सहरजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका थिए । सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार निर्देशनात्मक पत्र पठाएर सहरजिस्ट्रार र दुई सहडिन नियुक्ति कार्यान्वयन नगर्न र विश्वविद्यालय सेवा आयोगले विभिन्न विषय र तहका प्राध्यापक पदपूर्तिका लागि लिन तयारी गरेको खुला प्रतियोगितात्मक परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।

प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय सभापति यज्ञप्रसाद जमरकट्टेल, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सभापति नवीन भट्टराई र पीयू प्राध्यापक संघका केन्द्रीय उपसभापति वसन्त पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगित भएको जनाएका छन् । शिक्षामन्त्रीले आफ्नो माग पूरा गरी छानबिन समिति गठन गरेकाले तालाबन्दी खोलेर आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।