स्नातकको लाजमर्दो नतिजा

2018-08-10

Share this on:

विद्यालयस्तरको परीक्षाको उत्तीर्ण प्रतिशतबारे सधैँ बहस हुन्छ । अझ एसइईको उत्तीर्ण नतिजाबारे राष्ट्रिय बहस नै भयो तर विश्वविद्यालय तहको परिणामबारे भने कहिल्यै बहस हुन्न । जबकि स्नातक र स्ताकोत्तर तहको उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष लाजमर्दो अवस्थामा पुग्न थालेको छ। विश्वविद्यालय अनुसन्धान, खोज र आविष्कारका प्रमुख स्रोत हुन् । यी क्षेत्रमा कस्ता जनशक्ति उत्पादन भइरहेका छन् भन्ने हेर्न त्रिविको स्तानक र स्नातकोत्तर तहको उत्तीर्ण प्रतिशत हेरे पुग्छ ।

तोकिएको शैक्षिक सत्रमा लगातार पास हुने विद्यार्थीको संख्या निकै कम छन् । नियमित विश्वविद्यालय जाने विद्यार्थीहरुसमेत वर्षौवर्ष ब्याकपेपरको चाङ बोकेर बस्छन् । यस्तै केही विद्यार्थी फेला पा¥यो शुक्रवारले । तर उनीहरु लाजले परिचय खुलाउन तयार भएनन् । 

रौतहटकी सुस्मिता शर्मा (नाम परिर्वतन) । उनी स्नातक तह पढ्न २०७० मा काठमाडौँ  आइन् । व्यवस्थापन संकाय लिएर शंकरदेव क्याम्पस भर्ना भएकी उनी अहिलेसम्म स्नातक तह उत्तीर्ण भएकी छैनन् । पहिलो र दोस्रो वर्ष उनलाई ५ वटै विषयमा ब्याक लाग्यो । तेस्रो वर्ष ३ वटामा अनि चौथो वर्ष २ वटा विषयमा उनी फेल भइन् । उनी नियमित विश्वविद्यालय जान्छिन् तर उत्तीर्ण हुन हम्मे परेको छ । 

०६८ सालमा शंकरदेव क्याम्पसमा स्तानक तहमा भर्ना भएका कास्कीका श्याम गुरुङ (नाम परिर्वतन) का सहपाठीको विश्वविद्यालयको पढाइ सकिसक्यो । उनी भने अहिले पनि स्तानक तहमै छन् ।
निजी कम्पनीमा मार्केटिङको काम गरिरहेका उनी ब्याक पेपर खेप्दाखेप्दा दिक्क भइसके । पढाइमा ध्यान दिए पनि उत्तीर्ण हुन नसकिएको उनको गुनासो छ ।

‘आफूसँगै पढेका साथीहरुले मास्र्टस सकिसके, आफू भने  ब्याचलर उत्तीर्ण हुन पनि सकिएन,’ उनले भने, ‘के–के न गर्छु भनेर काठमाडौँ आएर पढ्न बसेँ तर न त पास नै हुनसकियो न केही गतिलो जागिर नै पाउन सकियो ।’ त्रिभुवन विश्वविद्यालय अन्तर्गत पढ्ने  ५० प्रतिशत बढी विद्यार्थीको  समस्या यस्तै देखियो । त्रिविको  तीन वर्षको परीक्षा नतिजा केलाउँदा व्यवस्थापन, मानविकी र शिक्षा संकायमा विद्यार्थी  उत्तीर्ण दर ५० प्रतिशतभन्दा कम  छ ।

चार वर्षे बिबिएसमा पहिलो र दोस्रो वर्ष पास हुनेहरु ३० प्रतिशत भन्दा  पनि कम छन् । अन्य फ्याकल्टीको पनि समस्या उस्तै । स्नातक तहको अन्तिम वर्ष प्रायः फ्याकल्टीमा प्रयोगात्मक परीक्षा हुने भएकाले उत्तीर्ण प्रतिशत केही राम्रो देखिए पनि ५० प्रतिशत कट्न सकेको छैन ।उपल्लो तहको परीक्षाको अवस्था यस्तो लाजमर्दो छ तर जिम्मेवार अधिकारी शैक्षिक प्रणाली र शैक्षिक वातावरण भन्दा विद्यार्थीलाई नै दोष दिन्छन्, यस्तो झुर परिणाममा पनि ।

त्रिवि व्यवस्थापन विभागका डिन डिल्लीराज शर्माले सिम्याट (प्रवेश परीक्षा दिएर पढ्ने) लिएर  सञ्चालन  गरेका अन्य कार्यक्रमको नतिजा ८० प्रतिशतभन्दा बढी पास रेट रहेको दाबी गर्छन् । उनले खुला रुपमा हुने पढाइमा भर्ना भएका विद्यार्थीमध्ये २५ देखि ३५ प्रतिशतले सबै परीक्षा नदिने समस्याका कारण उत्तीर्ण प्रतिशत कम देखिएको उनले दाबी गरे । 

राम्रो नतिजा नआउनुमा दोष विद्यार्थीको भएको भन्न हिच्किचाएनन् शर्मा । प्रायः  बिबिएस पढ्नेहरु नियमित क्याम्पस नआउने, पढाइ छाडेर  विदेश जानेजस्ता समस्याले समेत उत्तीर्ण प्रतिशत कम देखिएको शर्माले दोहोर्याए ।‘नियमित कक्षामा उपस्थित हुने हो भने पनि नतिजामा धेरै सुधार हुनसक्छ,’ शर्माले भने, ‘तर नियमित विश्वविद्यालय आउनेहरुको संख्या निकै कम छ ।’

प्राध्यापक नेत्रप्रसाद सुवेदी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातक तहको नतिजा उत्कृष्ट नआउनुमा तीन कारण देख्छन् । विद्यार्थीको अनुपस्थिति, विद्यार्थी र प्राध्यापकबीच समन्वयात्मक सम्बन्धको अभाव, त्रिवि नेतृत्वमा क्षमतावान् मान्छे भन्दा राजनीतिक दलको झण्डा बोकेर हिँडेकाले यस्तो झुर नतिजा आएका प्राध्यापक शर्माले बताए । ‘मैले पढाएको १८ वर्ष भयो,’ उनले भने, ‘भर्ना भएका विद्यार्थीमध्ये ५० प्रतिशत पनि कक्षामा उपस्थित हुँदैनन् । विद्यार्थी र प्राध्यापकबीच समन्वयात्मक सम्बन्ध नहुनु र प्रश्न सोध्न सक्ने विद्यार्थीको अभावले समेत नतिजा राम्रो हुन सकेको छैन ।’

पढाइभन्दा राजनीति

प्राध्यापक शर्मा विश्वविद्यालयका विद्यार्थीमाझ पढ्ने चाहनाभन्दा पनि  राजनीति गर्ने चाह ज्यादा हुने गरेको बताउँछन् । प्राध्यापक सुवेदी यो रोग विद्यार्थीमा मात्र नभई प्राध्यापकमा पनि उस्तै रहेको बताउँछन् । 
विश्वविद्यालय गएपछि त जे गरे पनि हुन्छ भन्ने गलत मानसिताको प्रभाव शैक्षिक गुणस्तरमा परेको छ ।

ब्याक पेपर लागे पनि एकै तहको दोस्रो र तेस्रो वर्ष पढ्न पाउने हुँदा अवस्था यति गएगुज्रेको देखिएको हो । विश्वविद्यालयमा पुगेका अधिकांश विद्यार्थी काम पनि गर्ने र पढ्ने पनि हुँदा पढाइमा ज्यादा समय दिन नसक्दा पनि विश्वविद्यालय तहको उत्तीर्ण प्रतिशत दयालाग्दो देखिएको हो ।

प्राध्यापक रवीन्द्र विष्ट उपल्लो शैक्षिक तहको नतिजा राम्रो नहुनुमा प्राध्यापक, विद्यार्थी, राज्य र अभिभावक सबै दोषी रहेको बताउँछन् । 

विद्यार्थीमा सिक्ने उत्कृष्ट चाहना नहुनु, झारा टराइको शिक्षण शैली, शैक्षिक संस्थाप्रति राज्यको बेवास्ता र कलेज गएका सन्तानबारे अभिभावकले चासो नराख्दा नतिजा राम्रो हुन नसकेको उनको विश्लेषण छ ।

टिप्पणी

प्राध्यापक, दिपेश मूर्ति पन्त 
विश्वविद्यालय भने राजनैतिक, आर्थिक, वैज्ञानिक, दर्शनशास्त्र आदिको ज्ञान दिने ठाउँ मात्र होइन, यी क्षेत्रका अनुसन्धान, खोज र आविष्कारका पनि प्रमुख स्रोतहरु पनि हो । विकसित मुलुकको इतिहास हेर्दा विश्वविद्यालयले प्रत्येक क्षेत्रमा प्रमुख स्थान दिएका छन् । हाम्रो विश्वविद्यालय देखे÷भोगेको मान्छेले पत्याउन गाह्रो पर्छ । 

नेपालको दुषित राजनीति, भ्रष्टाचार र जवाफदेहीको अभावले हाम्रो बुढो त्रिभुवन विश्वविद्यालय दिनानुदिन जर्जर हुँदै गइरहेको छ । सबैजस्तो विभागका नतिजा क्रमिक रुपमा बिग्रँदै गइरहेका छन् । आएका नतिजा र त्यसले समाजमाथि गर्ने प्रयोगात्मक प्रयोग झन् निम्न कोटीको छ ।समस्याको समाधान गर्न सक्ने र प्रतिस्पर्धा गर्न सक्ने मानवशक्ति निर्माण गर्न पूर्णतः असफल छ । जसको प्रत्यक्ष प्रभाव देश र समाजले भोगिरहेको छ ।

विभिन्न विद्यार्थी संगठनको नाममा राजनीतिक पार्टीहरुले विश्वविद्यालयलाई आफ्नो निकृष्ट राजनीतिक उद्देश्यहरु, स्वार्थहरु सिद्ध गर्न खेलमैदान बनाउने गरेका छन् । आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति दिने, विश्वविद्यालयको आफ्नै जवाफदेही र उत्तरदायित्व बोधमा आएको लगातार गिरावट, जनताको विश्वविद्यालय प्रतिको उदासिनता आदि कारणले निरन्तर रुपमा विश्वविद्यालयलाई जर्जर बनाइरहेको छ । सम्बन्धन लिएर निजी क्षेत्रले संचालन गरेको कलेज पैसा कमाउने ध्येय मात्र राख्छन् । यसले हाम्रो देशको शैक्षिक गुणस्तर, अन्वेषण, अनुसन्धानको स्तरमा तीव्र गिरावट आएको छ ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरु पनि केन्द्रीय विभागजस्तै नियति भोगिरहेछन् । राजनीतिक पार्टीका फोहोरी खेल र विद्यार्थी नेताहरुमा र प्राध्यापकहरुमा राजनीतिकस्तर प्राप्त गर्ने निकृष्ट अभिलाषाले विद्यालयहरुलाई प्रयोग गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको वर्तमान र भविष्य दुवै जोखिममा छन् । कर्मचारीतन्त्रमा फैलिएको भ्रष्टाचार झन् डरलाग्दो छ । 

विश्वविद्यालयलाई बचाउने हो र यसलाई अध्ययन, अनुसन्धानको केन्द्र बनाउने हो भने राजनीति र यसको कुत्सित स्वार्थपूर्तिलाई पर राख्न सक्नु पर्छ । विश्वविद्यालयका विभिन्न अंगलाई जवाफदेही बनाउन दबाबको संयन्त्र बनाउन सक्नु पर्छ । विद्यार्थीले पनि राजनीतिभन्दा अध्ययन र अनुसन्धानमा केन्द्रित हुन आवश्यक  छ । 

~Shukrabaar Weekly