छोरीबुहारीलाई पढ्ने अवसर

2019-01-30

RSS


कञ्चनपुर, १६ माघ (रासस) ः कक्षा १२ उत्तीर्ण गरेपछि गाउँमै क्याम्पस नहुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अधिकांश छोरीबुहारीको उच्च शिक्षा अध्ययन गर्ने धोको अधुरो रहेको थियो । टाढाको ठाउँमा अध्ययनका लागि पठाउन पनि परिवारलाई निकै समस्या थियो । 

आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाले टाढाको क्याम्पसमा पढ्नका लागि डेरा खर्च जुटाउन नसक्दा पढाइलाई अगाडि बढाउन पनि चुनौती रहेको थियो । आर्थिक अवस्था सुदृढ भएका परिवारले छोरालाई टाढाका क्याम्पसमा पढाउन सकेपनि छोरीबुहारीलाई भने कमैले पठाउने गरेको पाइन्छ । थोरै मात्रै महिलाले उच्च शिक्षापछिको क्याम्पसको पढाइ गरेका थिए । 

आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाले त क्याम्पससम्म देख्न पाएका थिएनन् स्थानीय समाजसेवी टेकबहादुर हमालले भन्नुभयो, “शिक्षामा सबैको समान ढङ्गले पहुँच पु¥याउन निकै चुनौती थियो ।” आर्थिक अवस्था सुदृढ भएका परिवारलाई समेत टाढाको कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, काठमाडौँ र भारतीय शहरमा उच्च शिक्षाका लागि बालबालिकालाई पठाउनुपर्ने बाध्यता थियो । 

स्थानीय समाजसेवीले आर्थिक रुपमा विपन्न परिवार र महिलाको शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि २०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी श्रीकृष्ण वैजनाथ बहुमुखी क्याम्पस स्थापना गरेका थिए । 

क्याम्पस स्थापना भएपनि भौतिक पूर्वाधारको विकास गर्ने कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्था गर्न आर्थिक स्रोत थिएन क्याम्पस व्यवस्थापन समितिका सदस्य धनबहादुर चौधरीले भन्नुभयो, “तत्काल कक्षा सञ्चालन गर्न श्रीकृष्ण माध्यमिक विद्यालयले कक्षा सञ्चालनपछिको समयमा भवन दिने निधो त ग¥यो । शिक्षक कसरी राख्ने समस्या यथावत् थियो ।” उहाँले भन्नुभयो, “घर घरबाट मुठ्ठीदान, स्वेच्छिक चन्दा र महायज्ञ सञ्चालन गरी केही रकम जम्मा भएपछि क्याम्पस सञ्चालन गरियो ।” 

क्याम्पसमा स्नातक तहका शिक्षा शास्त्र र व्यवस्थापन सङ्कायमा शुरुको शैक्षिक सत्रमा चारजना शिक्षक र ३१ जना विद्यार्थीबाट कक्षा सञ्चालन गरिको क्याम्पसमा हाल २० जना शिक्षक, तीनजना कर्मचारी र ४६५ जना विद्यार्थी भर्ना भएर पढ्दै आएका छन् । 

क्याम्पसमा पढ्नेमा अधिकांश विपन्न परिवारका छात्रछात्रा र विवाहपश्चात् क्याम्पसको पढाइ पूरा गर्न नसकेका महिला अध्ययनरत छन् । सीमित साधन स्रोतबाट हुर्कंदै गएको संंस्थासँग हाल १६ कोठा भएको आफ्नै भवन, पुस्तकालय, इन्टरनेटलगायतको व्यस्था गरेको छ । 
सङ्घीय सरकार र स्थानीय तहले क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि सहयोग गरेपछि क्याम्पसका भवन बनेका छन् । 

उच्च शिक्षा पूरा गर्न नपाएका र विवाह भएका कारण टाढाको शहरमा गएर उच्च शिक्षा लिन नपाएका महिलाको संस्था भने छात्रको तुलनामा दुई गुणाले बढी रहेको छ । शैक्षिकसत्र २०७४÷७५ मा कूल विद्यार्थी सङ्ख्या ४२१ रहेकामा छात्र १११ र छात्रा ३१० रहेका थिए । चालू शैक्षिकसत्र २०७५÷७६ मा कूल विद्यार्थीको सङ्ख्या ४६५ रहेको छ । कूल विद्यार्थीमध्ये छात्र १२० र छात्रा ३४५ रहेका छन् । दलित समुदायका २२ र जनजाति समुदायका ४३ जना विद्यार्थी पढ्दै आएका छन् । 

कूल विद्यार्थीमध्ये ४० प्रतिशत विवाहका कारण क्याम्पसको शिक्षा पूरा गर्न नसकेका छात्राहरु अध्ययन गरिरहेको क्याम्पस प्रमुख गणेशबहादुर ऐरले बताउनुभयो । 

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी स्नातक तहको शिक्षाबाट वञ्चित नहुन् भनेर महिला, दलित, जेहन्दार र द्वन्द्वपीडित र पिछडिएका क्षेत्र तथा अन्य जनजाति, अपाङ्ग छात्रछात्रालाई छात्रवृत्ति दिने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “४३ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेका छौँ ।” पढाइमा गुणस्तर कायम हुन थालेपछि प्रतिवर्ष विद्यार्थीको सङ्ख्या क्याम्पसमा बढ्दै गएको उहाँको भनाइ छ । 

व्यवस्थापन सङ्कायको स्नातक चौथो वर्षको परीक्षामा सहभागी भएका ३४ विद्यार्थीमध्ये २३ दशमलव ५२ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा सङ्कायको तेस्रो वर्षको परीक्षामा सहभागी ४९ जनामध्ये १४ दशमलव २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

क्याम्पसको साधारणसभामा सहभागी हुन आएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले क्याम्पसमा छात्राको भर्ना दर छात्रको तुलनामा निकै बढी भएको देख्दा क्याम्पसको भौतिक पूर्वाधार विकास र गुणस्तर सुधारमा सहयोग गर्ने इच्छा देखाउनुभएको छ । 

क्याम्पसमा पढ्ने छात्रामा विवाहितको सङ्ख्या अधिक रहेको छ । गाउँमै क्याम्पस सञ्चालन भएपछि पढ्ने चाहना हुँदाहुँदै पनि बीचमा पढाइ छोड्न बाध्य छोरीबुहारीले पढाइलाई निरन्तरता दिन सकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षा नै समृद्धिको ढोका भएकाले क्याम्पसको विकासका लागि सबैको सहयोग आवश्यक छ ।” 

–राजेन्द्रप्रसाद पनेरु