नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

2019-04-16

Gorkhapatra


सिमकोट वैशाख ३ गते । बाल मन्दिर माविले छोटो समय लगाएर निर्माण गरिएको पुस्तकालय र कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ । भवनको उद्घाटन संगै पुस्तकालय र कार्यालय पनि संचालनमा आएका हुन ।
विद्यालयमा पठन पाठनका अतिरिक्त पुस्तकालय स्थापनामा सहयोग पुगोस र त्यसबाट विद्यार्थीलाई अतिरिक्त कृयाक्लाप आर्जन गर्न सहज बनाउन चालु आर्थिक बर्षमा सिमकोट गाउँपालिकाले अनुदान सहयोगमा पुस्तकालय सहयोगको कार्यक्रम राखेको र यसलाई बालमन्दिर माविले समयमै काम सम्पन्न गरेर प्रयोगमा ल्याउदा खुसी लागेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो ।

विद्यालयहरुको शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राख्ने र जसमा भौतिक पुर्वाधार देखि अन्य सफ्टवयरका कृयाक्लापहरु प्नि संचालन गर्ने उहाँले बताउनु भयो । आगामी दिनमा पनि विद्यालयलाई आवश्यक पर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उहाँले बताउनु भयो । कार्यालय भवनको उद्घाटन अध्यक्ष लामा र पुस्तकालय भवनको उद्घाटन उपाध्यक्ष बली रावतले गर्नु भएको कार्यक्रममा उपाध्यक्ष रावतले विद्यालयमा पठन पाठनका अतिरिक्त ज्ञान आर्जन गर्न पुस्तकालयले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरा रावतको अध्यक्षतामा संचालन भएको थियो ।

यस अघि भवन अभावमा व्यवस्थित रुपमा राख्न नसकिएका पुस्तकहरुलाई नयाँ भवन बने पछि पुस्तकालयमा राखिएको र अब कार्यालय समयमा पुस्तकालय खुल्ला रहने विद्यालयका शिक्षक मधु बस्नेत शाहीले बताउनु भयो । पुस्तकालयमा हाल तीन सय भन्दा बढी पुस्तक रहेको उहाँले बताउनु भयो । सिमकोट बजारमा रहेको बालमन्दिर माविमा पाँच सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।