राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पारित

2019-01-31

RSS


काठमाडौँ, १७ माघ (रासस) ः प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । 

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गर्नुभएको थियो । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई संशोधनसहित विधायन समितिमा पठाउन माग गर्नुभएको थियो । 

“सरकारले डा गोविन्द केसीसँग गरेको सहमति अक्षरशः पालना गर्नुपर्छ, सहमति संविधानविपरीत गरेको भए त्यस्तो सरकार एक मिनेट पनि रहन सक्दैन, संविधानबमोजिम नै सहमति गरेको भए कुन अहं र दम्भले सरकार यसबाट पछि हट्यो ?”, उहाँले भन्नुभयो । 

संशोधन प्रस्ताव राख्नुभएका सांसदद्वय राधेश्याम अधिकारी र सरिता प्रसाईंले आफूहरु अवरोधसहित विरोधमा रहेकाले भाग नलिने जानकारी गराउनुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधेयकले प्रा डा गोविन्द केसीसँगको सम्झौताको मूलभूत पक्षलाई समेटेको बताउनुभयो । “विधेयकमा आयोग गठनको व्यवस्था रहेकाले चिकित्सा शिक्षा सुधारका लागि अझै काम भइरहनेछ, विधेयक पारित भए पनि डा गोविन्द केसीको जीवनरक्षाका लागि अभिभावकका रुपमा सरकार लागिपर्नेछ”, उहाँले भन्नुभयो । सभाको अर्को बैठक यही माघ २० गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।