राष्ट्रिय शिक्षा सम्मेलन चैत अन्तिम साता

2019-03-27

Ekantipur


कान्तिपुर संवाददाता, काठमाडौं (कास)– सार्वजनिक शिक्षा सुधार अभियानलाई लिएर चैत अन्तिम साता राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ । शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्मेलन आयोजना गर्न लागेका हुन् । मन्त्रालयले गैरआवासीय नेपाली संघ फिनल्यान्डसित सहकार्य गरी विद्यार्थी भर्ना अभियान रणनीतिसमेत निर्माण गर्ने जनाइएको छ ।

‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना अभियानको समीक्षा, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, कमीकमजोरी विश्लेषण र नयाँ कार्यक्रम तय गर्न राष्ट्रिय सम्मेलन गर्न लागिएको हो,’ मंगलबार आयोजित पत्रकार भेटघाटमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भने । संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहत छ । सम्मेलनमा सामुदायिक विद्यालय सञ्चालनको चुनौती, प्रदेशका नमुना विद्यालयको प्रस्तुति, मदरसा, गुम्बा, गुरुकुलको स्थिति तथा चुनौती केलाइनेछ ।