अक्षर चिन्दै मुसहर

2019-03-27

Ekantipur


अर्जुन राजवंशी, बिर्तामोड — अति विपन्न मुसहर समुदायमा सारक्षरता तथा आचरण सुधारको कार्यक्रम सुरु गरिएको छ । बिर्तामोड नगरपालिका ३ र १० मा बसोबास गर्ने सीमान्तकृत मुसहर जातिका निरक्षरका लागि सोमबारदेखि ऊक्त कार्यत्रम सुरु गरिएको हो । 

वडा कार्यालयको आर्थिक सहयोगमा मुसहर बस्ती विकास निर्माण समितिले तीन महिने सारक्षता एवं आचरण सुधार कार्यक्रम सुरु गरेको समितिका अध्यक्ष इन्द्रसिंह राजवंशीले जानकारी दिए । मुसहर बस्तीमा १७ परिवारका ७६ जनाको बसोबास छ ।

उनीहरूमध्ये ४४ जना निरक्षर रहेको समितिले संकलन गरेको तथ्यांकमा उल्लेख छ । गरिबी र निरक्षरताका कारण उनीहरूमा सामान्य चेतनाको समेत कमी रहेकाले सारक्षता कक्षा सुरु गरेको राजवंशीले बताए । साक्षरता कक्षामा उनीहरूलाई अक्षर चिनाउनुकासाथै नैतिक ज्ञान समेत दिने राजवंशीले जानकारी दिए । ‘उनीहरूलाई आफ्नो समस्या पहिचान गर्ने बनाउन सकियो भने धेरै कुराहरूमा सुधार गर्न सकिन्छ’ राजवंशीले भने, ‘साक्षरता एवं आचरण सुधार कार्यक्रमले तीन महिनामा त्यो प्रगति हुन्छ भन्ने हामीलाई विश्वास छ ।’

मुसहर बस्तीमा २० जनासंग मात्र नागरिकता छ । बिर्तामोड ३ स्थित आन्धुवा खोला किनार र वडा नं. १० स्थित पुरानो सडकमा उनीहरूको बसोबास छ । बस्तीसम्म जाने बाटो छैन । बिजुली छैन । ट्युवेल र शौचालय पर्याप्त छैन । बर्षातमा सबैका घर डुबानमा पर्छन् । मुसहर समुदायका उनीहरू सबै भूमिहीन हुन् । उनीहरू अहिले ग्रामीण प्रशिक्षक केन्द्र कलवलगुडीको जमिनमा बसोबास गरिरहेका छन् । मुसहर बस्तीका कसैको पनि दर्बिलो घर छैन । टाँटीबेरा भत्किएका घर प्रत्येक बर्ष बनाउनुपर्छ ।

प्रदेश सांसद एकराज कार्कीले मुसहर बस्ती सुरक्षित नरहेकाले अहिले बसोबास गरिरहेको स्थानबाट सार्नुपर्ने बताए । उनले भने,‘डुबानको हिसाबले बस्ती सुरक्षित छैन । सुरक्षित ठाउँ खोजेर दर्बिलो घर बनाइदिनेतर्फ स्थानीय सरकार लाग्नुपर्छ ।’ वडा १० का वडाध्यक्ष दुर्योधन गुरुङले मुसहरको विकासका लागि गर्नुपर्ने थप कार्यबारे सबैको चासो र जिम्मेवारी हुनुपर्नेमा जोड दिए ।

उनले वडा कार्यालयको सहयोग मात्र पर्याप्त नभएकाले नगर तथा प्रदेशस्तरीय योजनाबाट उनीहरूको समस्याको दीर्घकालिन समाधान खोजिनुपर्ने बताए । मुसहर समुदायमा अधिकांश पुरुषले मात्र मजदुरी गरेको भरमा परिवारको पालनपोषण हुँदै आएको छ । मजदुरीमा जाने पुरुष मादकपदार्थ सेवन गरेर आउँदा परिवार तथा समाजमा अन्य समस्या समेत उत्पन्न हुने गरेको छ । सीमान्तकृत र राज्यको पहुँचभन्दा टाढा रहेका मुसहरहरूलाई जग्गाको व्यवस्थापन गरी नमुना बस्ती निर्माणमा पनि दीगो योजनाका साथ अघि बढ्नुपर्ने राजवंशीले बताए ।

वडा नं. ३ मा १० तथा वडा नं. १० मा ७ परिवारको बसोबास छ । छ दशकभन्दा लामो समयदेखि मुसहरहरू त्यहाँ बसोबास गरेपनि कसैले आफ्नो लागि जमिन जोड्न सकेका छैनन् । जमिनको अभावमा उनीहरूको बसोबास अव्यवस्थित छ । सिंगो बस्तीमा एलएलसी उत्तिर्ण गरेका दुई जना मात्र छन् । अन्य ३० जना विद्यालय तहमा अध्ययनरत छन् ।