लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल चेम्बर अफ कमर्स बीच सम्झौता

2018-12-26

edusanjal


काठमाडौँ  : लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससंगको समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

चेम्बर भवन, कान्तिपथ काठमाडौँमा सम्पन्न उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधर र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई. पंकज जलानले हस्ताक्षर गर्नुभएको थियो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले उद्योग र व्यापारिक संस्थाहरुलाई चाहिने दक्ष जनशक्ती शैक्षिक संस्थाले उत्पादन गर्ने र उत्पादित जनशक्तीलाई व्यापारिक प्रतिष्ठानहरुले खपत गर्ने भएकोले यी दुई क्षेत्र बिचको आपसी सहकार्य र समझदारी महत्वपूर्ण भएको कुरा बताउनुभएको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससंगको समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

साथै देशलाई चाहिने खास जनशक्तिको उत्पादन नै शैक्षिक संस्थाहरुको प्रमुख दायित्व भएकोले यस तर्फ अझैं प्रभावकारी रुपमा अघि बढ्न उहाँले शैक्षिक संस्थाहरुलाई अपील गर्नुभयो । 

सो समझदारी पत्रको कार्यान्वयनले व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थाबिचको आपसी सहकार्यलाई बढावा दिने र यसबाट सैदान्तिक र ब्यबहारिक ज्ञानको आदान–प्रदान गर्न सजिलो हुने बिश्वास गरिएको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको समझदारीमा नेपाल चेम्बर अफ कमर्सको नाममा पूर्ण तथा आंशिक गरि देशैभर ४९ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई करिब १ करोड बराबरको छात्रवृति प्रदान गर्ने कुरा उल्लेख छ भने प्रिसीडेन्सियल बिजनेस स्कूलसंगको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा देशैभर व्यवसाय प्रबर्दनलाई बढावा दिन बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने कुरा समेटिएको छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले समझदारी पत्रले नेपालमा शैक्षिक संस्था र उद्योगी–व्यवसायी बीच सहकार्यको सुरुवात भएको कुरा व्यक्त गर्नुभयो । 

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जलान ले नीजि क्षेत्रको देशकै पुरानो तथा गौरवमय इतिहास भएको संस्था नेपाल चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गर्न पाउदा आफ्नो संस्थालाई गर्वको अनुभूति भएको कुरा उल्लेख गर्नुभयो । साथै उहाँहरुले नेपालमै बिदेशी बिश्वबिद्यालयको भन्दा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको कुरा समेत उल्लेख गर्नुभयो । 

आफ्नो प्रयास भनेको नेपाली विद्यार्थीहरुलाई विदेश पढ्न जानुपर्ने वातावरण अन्त्य गर्ने रहेको कुरा समेत उहाँहरुले उल्लेख गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य सन्तोष पाण्डेले नेपाली बिद्यार्थीहरुले बिदेशमा गएर भुइँ पुछ्दै पढ्नुपर्ने स्थितिको अन्त्य गर्नै पर्ने कुरा उल्लेख गर्नुभयो । सहभागी सबैले शैक्षिक संस्था र ’कर्पोरेट हाउस’ बिचको सहकार्यले देश बन्ने कुरामा जोड दिनुभएको थियो।