एमबीबीएस पढ्न प्रतिमालाई नेपालगञ्जका मेयरले दिए एक महिनाको तलब

2018-11-30

Ujaayaloonline


गोविन्द शर्मा, बाँके – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले एक महिनाको तलबभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका ४ डी गाउँकी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनका लागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

प्रतिमाका बुवा मदन ढुंगाना र आमा सीतादेवी शर्मालाई शुक्रबार निवासमै पुगेर रकम हस्तान्तरण गर्दै प्रमुख राणाले शर्माको उज्जवल भविष्यको कामना समेत गर्दै कान्छी छोरीको अध्ययनको व्यवस्था मिलाइदिने बताउनुभयो ।

यसैगरी प्रतिनिधिसभाको प्राकृतिक श्रोत साधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले शुक्रबार प्रतिमा शर्मालाई २० हजार रुपैयाँ सहयोग गनुर्भएको छ ।  त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पूर्ण छात्रवृत्ति भएपछि भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कमजोर आर्थिक अवस्था भएका कारण शर्मालाई पढाईलाई पूर्णता दिन सहयोग संकलन गरिएको हो । सहयोगका लागि एनआईसी एसिया बैंकमा वडा अध्यक्ष सुनार र प्रतिमाको आमा सीतादेवी शर्माको नाममा रहेको खाता नम्बर बी १८७०००४५८९५२४०१ मा रकम जम्मा गर्न सकिने वडा अध्यक्ष सुनारले जानकारी दिनुभयो ।