त्रिवेणी गाउँपालिकामा स्थानीय पाठ्यक्रम

2019-04-15

Ekantipur

Share this on:

चैत्र ३०, २०७५, विप्लव महर्जन, सल्यान — त्रिबेणी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रम अनुसार पठनपाठनको तयारी गरेको छ । गाउँपालिकाले ‘मेरो त्रिवेणी’ नामक स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न थालेको हो ।

स्थानीय संस्कृति, भाषा, जनजीवन, भूगोल, इतिहास लगायतबारे विद्यार्थीलाई जानकारी दिन स्थानीय पाठ्यक्रम तयार गरिएको गाउँपालिकाले जनाएको छ । पाठ्यक्रममा त्रिबेणी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, संस्कृति, इतिहासलगायत सबै विषयवस्तु समेटिएको छ । स्थानीय बिषयलाई शिक्षामा परिनत गरेर जीवनसँग जोडने प्रयोजनका लागि पाठ्यक्रम तयार गरिएको जनप्रतिनिधिको भनाइ छ । आगामी शैक्षिक सत्र २०७६ बाट सबै विद्यालयमा उक्त पाठ्यक्रम अनुसार पढाइ हुने त्रिबेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए ।

उनले पाठ्यक्रम स्वीकृत भइसकेकाले विद्यालयमा पठाएर पुस्तक छाप्ने तयारी गरिरहेको जानकारी दिए । ‘पाठ्यक्रम अनुसारको पुस्तक सबै विद्यालयलाई उपलव्ध गराइनेछ,’ उनले भने, ‘स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउन र गाउँपालिकाको समग्र जनजीवनबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम तयार गरिएको हो ।’

राष्ट्रिय पाठयक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मको लागि पाठ्यक्रमको विकास गर्नसक्ने अधिकार प्रदान गरेकाले त्यहीलाई लागु गर्न खोजिएको जनप्रतिनिधिले जनाएका छन् । ‘आधारभूत तहका बिद्यार्थीलाई आफू जन्मेको र हुर्किदै गरेको परिवेशबारे जानकारी दिन स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकले सहयोग गर्नेछ,’ अध्यक्ष डाँगीले भने, ‘स्थानीय तहका सांस्कृतिक, ऐतीहासिक, आर्थिक बिशेषताको जगेर्ना गर्नसमेत विद्यार्थीलाई प्रेरणा मिल्ने विश्वास छ ।’

पाठ्यक्रम निर्माण गर्ने काम जटिल भए पनि आफूहरू सफल भएको उनको दाबी छ । स्थानीय फाठ्यक्रम निर्माणकै त्रममा ओझेलमा परेका विषयबस्तुलाई सतहमा ल्याइ संरक्षणको पहल गरिरहेको उनले जानकारी दिए । उनका अनुसार स्थानीय पाठ्यपुस्तक लागु हुँदा लोप हुँदै गइरहेका कला, संस्कृति र परम्पराको जगेर्नामा टेवा पुग्ने देखिएको छ ।

गाउँपालिकाभित्र रहेका २९ सामुदायिक विद्यालय र सात निजीमा ‘मेरो त्रिबेणी’ पुस्तक अध्ययन(अध्यापन गराइनेछ । प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीका अनुसार पाठ्यपुस्तकमा जिल्लाका महत्वपूर्ण तथ्यांक र जानकारीसमेत समेटिनेछ । उनले पहिलोपटक जिल्लामा स्थानीय पाठ्यक्रम लागु गर्न लागेको दाबी गरे ।

‘स्थानीय पाठ्यपपुस्तकले सानै उमेरका बालबालिकालाई स्थानीय परिवेशबारे सैद्धान्तिक जानकारी दिनेछ,’ उनले भने, ‘आफ्नो पालिकाभित्रका विभिन्न विषयवस्तुबारे शिक्षक र अभिभावकले समेत जानकारी लिन सक्नेछन् ।’ उनले सिकाइ उपलव्धी बढाउन पनि स्थानीय पाठ्यपुस्तक सहयोगी हुने जानकारी दिए ।