न्याम्स ६ महिनादेखि पदाधिकारीविहीन

2019-02-15

Ekantipur


अतुल मिश्र, काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा उपकुलपतिलगायत पदाधिकारी ६ महिनादेखि नियुक्त हुन नसक्दा दैनिक कार्य सञ्चालनमा समेत समस्या उत्पन्न भएको छ । 

स्वास्थ्य मन्त्रालयले ५ महिनाअघि नै उपकुलपति सिफारिस गरे पनि अन्य पदाधिकारी आफूले भनेअनुसारको हुनुपर्ने प्रधानमन्त्री कार्यालयको अडानका कारण नियुक्ति हुन नसकेको स्रोतले जनाएको छ । मन्त्रालयले न्याम्स उपकुलपतिमा ३ जनाको नाम प्रस्ताव गर्दै प्रधानमन्त्री कार्यालयमा पठाएको थियो ।

उपकुलपति नियुक्ति हुन नसक्दा रेक्टर, रजिस्ट्रार, डिन, वीर अस्पताल तथा ट्रमा सेन्टरका निर्देशकको समेत नियुक्ति हुन सकेको छैन । प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार उपकुलपति नियुक्त गरेपछि उपकुलपतिले बाँकी पदाधिकारीको नाम स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने प्रावधान छ । प्रधानमन्त्री केपी ओली न्याम्सका कुलपति तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहकुलपति हुन् ।

मन्त्रालयले न्याम्सको उपकुलपतिमा आवेदन आहानसँगै उनीहरूसँग प्रस्तावसमेत माग गरेको थियो । मूल्यांकन समितिले आवेदकहरूको प्रस्तुतिअनुसार ३ वटा नाम चयन गरेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘उपकुलपति उपप्रधानमन्त्रीको सिफारिसअनुसार हुने भए अन्य ५ पद नेकपाले भनेअनुसार हुनुपर्ने अडानले गर्दा हालसम्म नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको हो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर उपप्रधानमन्त्रीले कानुनसम्मत रूपमा सिफारिस गरेर पठाएकाले अन्य पदमा सम्झौता नगर्ने अडान लिनुभएको छ ।’

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले उपकुलपति नभएसम्म अन्य पदमा समेत नियुक्ति हुन नसकेको बताए । ‘स्वास्थ्य मन्त्रालयले असोज १ मै प्रधानमन्त्रीसमक्ष नाम पठाइसकेको छ, जबसम्म उपकुलपतिको नियुक्ति हुँदैन, अन्य पदमा पनि नियुक्ति हुन सक्दैन,’ उनले भने । राज्यमन्त्री यादवले उपकुलपतिको छिट्टै नियुक्तिका लागि पहल गरिरहेको समेत बताए ।

स्वास्थ्यमन्त्री यादवले गत माघ ९ मा पत्रकार सम्मेलन गरेर न्याम्समा पदाधिकारी नियुक्त नहुनुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार भएको बताएका थिए । उनले भनेका थिए, ‘न्याम्समा उपकुलपति ४ महिनाअघि नै सिफारिस गरेर पठाएँ, त्यहाँ रजिस्ट्रार, डिन, निर्देशक कोही छैन, मलाई समेत चित्त बुझेको छैन । यो विषय प्रम कार्यालयलाई नै थाहा हुन्छ ।’

तत्काल उपकुलपतिलगायत पदाधिकारी नियुक्तिको माग गर्दै न्याम्स कर्मचारी युनियन, वीर अस्पतालले बुधबारदेखि दैनिक १ देखि २ बजेसम्म एक घन्टे धर्नासमेत सुरु गरेको छ । उनीहरूले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली तथा सहउपकुलपति तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठान १ सय ९१ दिनदेखि पदाधिकारीविहीन भएकाले दैनिक कार्य सञ्चालनसमेत असहज भएको जनाएका छन् ।

युनियनका सचिव दीपक मुडभरीले सरकार छिट्टै मागप्रति संवेदनशील नभए थप आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने बताए । न्याम्समा सरकारतर्फका ६ सय ६३ र न्याम्सतर्फका ६ सय २३ गरी करिब १३ सय कर्मचारी छन् ।