नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार

2019-02-15

Ekantipur


काठमाडौं (कास)– नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलजी (नास्ट) की टिस्टा प्रसाईं जोशीले ‘ओडब्लूएसडी–एल्सवियस फाउन्डेसन पुरस्कार’ जितेकी छन् । अमेरिकन एसोसिएसन अफ एड्भान्समेन्ट अफ साइन्स (एएएएस) ले नेपालसहित विकासशील देशका ५ महिला वैज्ञानिकलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।

एल्सवियसद्वारा जारी विज्ञप्तिमा नेपाल, बंगलादेश, बोलिभिया, गाम्बिया र प्यालेस्टाइनका अनुसन्धाताहरूलाई जैविक विज्ञानमा योगदान पुर्‍याएबापत पुरस्कृत गर्ने निर्णय भएको उल्लेख छ । अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ड (ओडब्लूएसडी) विजेता चयन प्रतिष्ठित वैज्ञानिकहरूको टोलीले गर्छ । विजेतालाई जनही ५ हजार अमेरिकी डलर नगदसहित एएएएसको वार्षिक बैठकमा आउजाउ गर्दाको सबै खर्च उपलब्ध गराइन्छ । शनिबार हुने बैठकमा उक्त पुरस्कार वितरण गरिँदै छ ।