एस्पायर इन्ट्रा कलेज प्रतियोगिता गर्दै आइएनजी ग्रुप

2018-11-27

Nayapatrika

Share this on:

आइएनजी ग्रुपले आफ्नो पाँच कलेजमा आबद्ध विद्यार्थीका लागि अध्ययनसँगै व्यावसायिक जीवनमा आउने विभिन्न समस्या समाधानका लागि ज्ञान दिने उद्देश्यले विशेष प्रतियोगिता आयोजना गर्ने भएको छ । ग्रुपले इस्लिङ्टन कलेज काठमाडौं, मेरिल्यान्ड कलेज विराटनगर, इटहरी इन्टरनेसनल कलेज, हेराल्ड कलेज काठमाडौं र इन्फरम्याटिक्स कलेज पोखराका विद्यार्थीको सहभागितामा मंसिर १६ देखि १८ सम्म एस्पायर इन्ट्रा कलेज प्रतियोगिता– २०१८ आयोजना गर्न लागेको हो ।

विद्यार्थीलाई व्यावसायिक जीवनमा आइपर्ने समस्याहरूको रचनात्मक समाधान खोज्न एस्पायर– २०१८ ले तयार बनाउने विश्वास आयोजकले लिएको छ । एस्पायर– २०१८ ले हरेक सहभागीलाई नयाँ–नयाँ व्यावसायिक योजनाहरूको परिकल्पना गर्ने अवसर पनि प्रदान गर्ने बताइएको छ । व्यवसाय व्यवस्थापनका साथै सूचनाप्रविधिसम्बन्धी कार्यक्रमसमेत एस्पायरमा समावेश हुने जनाइएको छ ।

प्रतियोगिताअन्तर्गत ७ वटा कार्यक्रम रहेका छन् । प्रतियोगिताअन्तर्गत स्टार्टअप आइकन, मनी मास्टर, लास्ट मार्केटकल, लिग अफ लिडर, सिइओ अफ द इयर, ब्याटल अफ कोड्स र अ डे इन ब्रिटेन विषयमा कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

स्टार्ट अप आइकनमा नयाँ विचार र वस्तु समावेश गरेर व्यवसाय गर्न इच्छुक विद्यार्थीका लागि विशेष मञ्च उपलब्ध गराइनेछ । यस प्रतियोगितामा प्रतिस्पर्धीले बजारविज्ञहरूसँग परामर्श गर्ने अवसर पाउनेछन् । त्यस्तै मनी मास्टरमा सहभागीले विश्व बजारको अध्ययन गरेर विभिन्न वस्तुको किनबेच गर्नुपर्नेछ भने लास्ट मार्केट कलमा बजारमा अवस्थित कम्पनीहरूका लागि सहज बजारीकरण बनाउनुपर्ने हुन्छ ।

प्रतियोगिताअन्तर्गत लिग अफ लिडरमा व्यावसायिक जीवनमा मानव संसाधनसम्बन्धी अनुभव गर्न सकिनेछ । यसमा सहभागीले आफ्नो पारस्परिक कौशललाई कर्मचारीहरू सम्हाल्न प्रयोग गर्नेछन् । सिइओ अफ द इयरअन्तर्गत सहभागीले नयाँ बजार प्रवेश गर्न कम्पनीका लागि रणनीति तयार गर्नुपर्ने हुन्छ । सूचनाप्रविधिसम्बन्धी कार्यक्रम ब्याटल अफ कोड्समा चाहिँ सहभागीले अवस्थित व्यवसाय बाधाहरू समाधान गर्न एप्लिकेसनहरू विकास गर्नुपर्ने हुन्छ ।

अन्तिम दिन हुने अ डे इन ब्रिटेनमा अवलोकनकर्ताका लागि बेलायती व्यवसाय तथा संस्कृतिको आभास गराउने विभिन्न स्टल राखिनेछ । स्टलहरूमा स्कटल्यान्ड, इंगल्यान्ड र वेल्ससँग सम्बन्धित विषय हुनेछन् । समारोहमा सांगीतिक प्रस्तुति, नृत्य, साथै पुरस्कार वितरण पनि हुन आयोजकले जनाएको छ । कार्यक्रममा अतिथिका रूपमा विज्ञापन एजेन्सी, जागिर पोर्टल, बैंक, मिडिया, उद्यमी तथा व्यापारिक घरानाबाट प्रसिद्ध नामहरू सहभागी हुने जनाइएको छ ।