अपायकमा परीक्षा केन्द्र

2019-03-29

Ekantipur


हरि गौतम, रुकुमपूर्व — मेरिना बुढा एसईईमा सहभागी भएकी छन् । उनको घरभन्दा १० मिनेट टाढा परीक्षा केन्द्र छ । उनी भने एक दिन टाढाको परीक्षा केन्द्रबाट परीक्षा दिँदै छिन् । पुथाउत्तरगंगा गाउँपालिका–१० की बुढा सोही ठाउँको महेन्द्र माविमा पढेकी हुन् ।

झण्डै एक वर्ष घरनजिकै पढेकी बुढा परीक्षा दिन भने सिस्ने गाउँपालिका–२ को हिमालय मावि नायगाड परीक्षा केन्द्रमा पुगेकी छन् । अन्य ६३ जना साथीसँगै उनी परीक्षा सुरु हुनु भन्दा तीन दिनअगाडि एक दिनको पैदल यात्रा गरेर परीक्षा केन्द्र पुगेकी थिइन् ।
प्रतीक शाहीको घर पनि आफू पढेको विद्यालयभन्दा नजिकै छ । पढ्न जाँदा शाही १० देखि १५ मिनेटमा विद्यालय पुग्छन् । सिस्ने गाउँपालिका–५ रुक्मिणी मावि रुकुमकोटका विद्यार्थी उनी परीक्षा दिन भने अर्को गाउँपालिका पुग्नुपरेको छ । भूमे गाउँपालिका–६ को जनजागृति मावि महत परीक्षा केन्द्रमा उनका ६५ साथीसहित परीक्षा सुरु हुनु २ दिनअगाडिपुगेका थिए ।

यी दुई मात्र होइन । जारी एसईईमा सहभागी जिल्लाका १ हजार ५९ विद्यार्थीले आफू पढेको विद्यालयबाट परीक्षा दिन पाएका छैनन् । ‘होम सेन्टर’ परिवर्तन गर्ने सरकारको नीतिअनुसार हरेक वर्ष विद्यार्थीले यसरी परीक्षाका बेला टाढाको विद्यालयमा जानुपर्ने बाध्यता छ । परीक्षालाई मर्यादित बनाउन ०६७ सालमा परीक्षा सञ्चालन निर्देशिका संशोधन गरिएको थियो । ‘घरनजिकै परीक्षा केन्द्र भए पनि हाम्रा लागि भएन,’ बुढाले गुनासो गरिन्, ‘अर्काको ठाउँ र अर्कै वातावरणमा समायोजन हुनैसमस्या हुने रहेछ ।’

१० दिनसम्म मात्रै बस्नलाई डेरा बनाउनुपर्ने र त्यसको व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्ने भएकाले परीक्षाको समयमा विद्यार्थीको मनोभावनामै समस्या हुने गरेको उनले बताइन् । शाहीको पनि उस्तै अनुभव छ । नयाँमा न्यास्रो महसुस हुने भएकाले पनि समस्या भइरहेको शाहीले बताए । ‘आफूले सधैं चिनेकै विद्यालयमा जस्तो नहुने रहेछ,’ उनले भने, ‘विद्यार्थीको अवस्था र समस्या पनि बुझिदिनुपर्छ ।’ होम सेन्टर परिवर्तनले विद्यार्थीलाई बढी सास्ती भएको उनले गुनासो गरे ।

जिल्लामा ६ वटा परीक्षा केन्द्र छन् । ६ वटै परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका विद्यार्थीले परीक्षा दिन पाइरहेका छैनन् । रुक्मिणी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवचन्द समालले सरकारको गलत नीतिले विद्यार्थीले दुःख पाउनु परेको बताए । महत्त्वपूर्ण समयका बेला विद्यार्थीलाई नयाँ परिवेशमा हालेकै कारण समस्या भोग्नुपरेको उनको भनाइ छ ।

विद्यार्थीको सट्टा शिक्षकलाई विद्यालय परिवर्तन गरेर परीक्षा गराउँदा सही हुने उनले बताए । महेन्द्र मावि तकसेराका प्रधानाध्यापक खिमबहादुर बुढा क्षत्रीले होम सेन्टर परिवर्तन गर्ने नीतिले विद्यार्थीलाई समस्या भएको बताए । ‘घरनजिकैको परीक्षा केन्द्र छाडेर विद्यार्थी बाहिर जानुपर्ने बाध्यताको नियम सही भएन कि भनेर समीक्षा गर्ने बेला भैसक्यो,’ उनले भने, ‘यसतर्फ समयमै ध्यान पुर्‍याउनु जरुरी छ ।’

जिल्ला शिक्षा समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले होम सेन्टर परिवर्तनले विद्यार्थीले दुःख पाएको बताए । विद्यार्थीको मनोबल गिर्ने र जानेको कुरा पनि सजिलै लेख्ने वातावरण बिग्रिएको उनको दाबी छ ।

जिल्लामा फरक–फरक बोली, भाषा, रहनसहनलगायतका कुरा मिल्ने अवस्था नहुनाले पनि त्यसको असर विद्यार्थीमा परेको ओलीले बताए । ‘यो प्रणालीले न परीक्षा सुधार भएको छ, न त विद्यार्थी तथा अभिभावकलाई सजिलो भएको छ,’ उनले भने, ‘टाढा छोराछोरी पठाउँदा अभिभावक पनि उसको चिन्ताले समस्यामा पर्ने गरेका छन् ।’ परीक्षा दिन जाँदा कोठा नपाइने, खान–बस्नसमेत समस्या पर्ने हुनाले असुरक्षाको खतरा पनि रहेको विद्यर्थी र अभिभावकको गुनासो छ ।