परीक्षा अनुगमन टोलीलाई बाजागाजा !

2019-03-28

Nagariknews


सुमन मल्ल, मुगु- एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षामा अनुगमन गर्न गएको अनुगमन टोलीलाई स्थानीले बाजागाजा सहित सम्मान गरेका छन्।

तस्बिर सौजन्य : नागरिक दैनिक

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको विजय माध्यामिक विद्यालयमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्न जिल्लाबाट गएको अनुगमन टोलीलाई परीक्षा केन्द्र पुग्नु अगाडि नै  स्थानीयवासि, शिक्षक , अभिभावकहरुले अनुगमन टोलीलाई अविर , फुल माला र बाजागाजा सहित स्वागत गरेका थिए। अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकाल, प्रहरी प्रमुख राजेन्द्रबावु रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुर्यबहादुर खत्री , जिल्ला अनुसन्धान कार्यालय प्रमुख नेबबहादुर राना , शिक्षक महासंघका अध्यक्ष जंगबहादुर शाही लगायतको अनुगमन टोलीलाई परीक्षा सुरु भई सकेपछि स्थानीयले बिच बाटोमा नै बाजा गाजा गरेका थिए।

परीक्षा केन्द्रमा पुग्नु अगाडि नै बिच बाटोमा गएर बाजा गाजा र सम्मान गर्दा परीक्षा केन्द्र पुग्ने समय लम्बीने , परीक्षार्थीले चिट चोर्न समय उपलब्ध हुने र टोलीले परीक्षार्थीको चिट नखोसियोस भन्ने मुख्य उदेश्य अभिभावकको रहेको स्थानीयको बुझाई छ। कतिपयले त अघि पछि विद्यालयको पढाईको अवस्था , शिक्षक विद्यार्थीको उपस्थितीको अवस्था कहिले पनि अनुगमन नगर्ने तर परीक्षाको बेला मात्र अनुगमन गर्ने शैलीले शिक्षामा गुणस्तर नहुने कतिपयको तर्क छ।