जुम्लामा विद्युतीय हाजिरी

2018-08-05

Ekantipur

Share this on:

जुम्ला– जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा विद्युतीय हाजिरीको प्रयोग बढ्दै गएको छ । स्थानीय तहले पनि विद्युतीय हाजिरी जडान गरिरहेका छन् । सामुदायिक विद्यालयमा समेत विद्युतीय हाजिरी जडानले तीव्रता पाएको छ । कर्मचारीको उपस्थितिको निगरानी गर्न सरकारी कार्यालयले विद्युतीय हाजिरी प्रयोगमा ल्याएका हुन् ।

विद्युतीय हाजिरीले सरकारी तथा अन्य कार्यालयको सेवाप्रवाहलाई गुणस्तर बढाउन, कर्मचारीलाई नियमित गर्ने, अनुशासित बनाउने, सेवाग्राहीप्रति जिम्मेवार हुन सहयोग गरेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘कर्मचारीलाई विद्युतीय हाजिरीले स्वअनुशासनमा बाँध्ने काम गरेको छ,’ उनले भने,‘आफ्नो कर्तव्यप्रति र कार्यालय समयप्रति सजग बनाएको छ ।’  

 गुठीचौर गाउँपालिकाले आफ्नो कार्यालयमा विद्युतीय हाजिरी जडान गरेर कर्मचारीलाई नियमित बनाउने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । उनले विद्युतीय हाजिरीका कारण सेवाग्राहीको गुनासो कम सुनिन थालेको बताए । कर्मचारीले गर्ने समयको लापरबाहीका कारण यसअघि सेवाग्राहीको काम समयमै नहुने समस्या थियो । 

 सदरमुकाम खलंगाका सबै सामुदायिक विद्यालयले विद्युतीय हाजिरी प्रयोग गरिरहेका छन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा समेत आकर्षण बढेको छ । विद्यालयमा शिक्षक नियमित र समयमा उपस्थित नहुने समस्या बढेपछि विद्युतीय हाजिरी जडान गरेको चन्दननाथ नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक महतले बताए । ‘विद्यालयमा नजाने गए पनि ढिलो जाने र छिटो फर्कने शिक्षकको प्रवृत्ति कम गर्न डिजिटल हाजिरी जोडिएको हो,’ उनले भने,‘नयाँ प्रविधिबाट हाजिरी जडान गरेपछि नियमित र समयमै शिक्षकको उपस्थिति हुने गरेको छ ।’ शिक्षक नियमित नहुँदा वर्षभरिमा कोर्स पूरा नहुने, एक/ दुई दिनको हाजिरी एकैपटक लगाउने र विद्यालय समयभन्दा छिटो घर जानेलगायतका समस्या हल भएको उनको भनाइ छ ।  

 जिल्लाका अधिकांश विद्यालयमा कुनै वर्ष पनि पूरै कोर्स पढाइ हुँदैन । समयमै शिक्षक नआउने मुख्य समस्याका कारण समयमै कोर्स सकिन नसकेको हो । जिल्लाका करिब १० प्रतिशत विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको उनले जनाए ।