विद्यालयलाई शैक्षिक सामग्री वितरण

2019-11-03

RSS


सुर्नया गाउँपालिका–१ हटैराजका एक स्थानीयवासीले गाउँको विद्यालयलाई रु एक लाख १७ हजार बराबराको शैक्षिक तथा खेलकूद सामग्री वितरण गर्नुभएको छ । हटैराजका पदमराम टेलरले विद्यालयलाई सो शैक्षिक तथा खेलकूद सामग्री वितरण गर्नुभएको हो ।

सशस्त्र प्रहरीको वरिष्ठ हवल्दारबाट सेवानिवृत हुनुभएका टेलरले विद्यार्थीलाई सजिलो होस् भनेर सामग्री वितरण गरेको बताउनुभयो । उच्चाकोट मावि हटैराजलाई आज उहाँले सो सामग्री हस्तान्तरण गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्दको अध्यक्षतामा भएको शैक्षिक तथा खेलकूद सामग्री हस्तान्तरण कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, काङ्ग्रेस उपसभापति चतुरबहादुर चन्द, सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट, सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टलगायतको उपस्थिति थियो । विद्यालयलाई ब्याडमिन्टन, भलिबल, ह्वाइटबोर्ड, ३४ पुस्तक, नक्सा तथा विभिन्न चार्ट हस्तान्तरण गरिएको थियो ।

दशरथचन्द नगरपालिकाका प्रमुख थापाले टेलरको सामाजिक सेवाको भावले अरुलाई प्रेरणा दिएको बताउनुभयो । सुर्नया गाउँपालिकाका अध्यक्ष विष्टले गाउँपालिकाले शिक्षाक्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले उच्चाकोट माविको विकासका लागि आफूले पहल गर्ने बताउनुभयो । टेलरले स्व बुवा कलकुते टेलरको सम्झानामा रु १० हजारको ‘कलकुते टेलर स्मृति कोष’ स्थापना गर्नुभएको छ ।