नमुना विद्यालय बनाउन माग

2019-02-17

Ekantipur


ललितपुर (कास)– ललितपुर दक्षिण दुर्गम पहाडी भेग आश्राङ लुकुनीस्थित बालमनोरमा आधारभूत विद्यालय भवन जीर्ण छ । 

विद्यार्थीहरू कष्टमा पढ्न बाध्य छन् । वाग्मती गाउँपालिका–६ स्थित विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित समारोहमा स्थानीय वडाअध्यक्षहरूले नमुना विद्यालय बनाउन पहल गर्नुपर्नेमा जोड दिएका छन् । 

बाग्मती गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बम्जन तामाङले संघ, प्रदेश र स्थानीय तहले भौगोलिक विकटताका आधारमा विद्यालय सुधार गर्न बजेट छुट्याउनुपर्नेमा जोड दिए । ‘ललितपुरलाई कुपन्डोल, जावलाखेल, लगनखेलसँग मात्र तुलना गरेर भएन,’ उनले भने । शिशुदेखि कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा १ सय ८४ जना विद्यार्थी छन् । तामाङ बाहुल्य भएको क्षेत्रमा शिक्षक, शिक्षिका र कार्यालय सहयोगी गरेर ९ जना कर्मचारी छन् । 

विद्यालयमा गिम्दी, प्युटार र मकवानपुरको समेत विद्यार्थी अध्ययन गर्न आउँछन् । सांसद नवराज सिलवाल र चेतनाथ सञ्जेलले शिक्षामार्फत दक्षिण ललितपुरको अँध्यारो हटाई उज्यालो ल्याउने बताएका छन् । 

‘विद्यालय भवन, कम्पाउन्ड–वाल बनाउन बजेट ल्याउन पहल भइरहेको छ,’ सिलवालले भने ।