विद्यालय सुधार्न स्थानीय सरकारबीच होडबाजी

2018-11-26

Nayapatrika

Share this on:

जाजरकोट: देशभर रहेका अधिकांश सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार, दक्ष शिक्षक, उपयुक्त शिक्षण पद्धति नअपनाएको भनेर अभिभावकको गुनासो आउने गर्छ । सामुदायिक विद्यालयमा राम्रो पठनपाठन नहुने भन्दै कैयौँ अभिभावकले मन नहुँदानहुँदै पनि छोराछोरीलाई निजी विद्यालयमा पठाउने गर्छन् । अभिभावकको यस्तै गुनासो र दुखेसो सदाका लागि समाधान गर्न भन्दै जाजरकोट स्थानीय सरकारले सामुदायिक विद्यालय सुधार अभियान थालेका छन् ।

जिल्लाका सबै सामुदायिक विद्यालयलाई आधुनिक, समयसापेक्ष र प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने भन्दै स्थानीय तहरूले शैक्षिक अवस्था सुधार्न होडबाजी चलाएका छन् । विद्यालयमा शिक्षण गर्दा आधुनिक प्रविधि प्रयोगदेखि शिक्षक संख्या थप्ने, सिसिक्यामेरामार्फत कक्षाकोठा निगरानी, उपयुक्त शिक्षण विधि प्रयोग हुन थालेको छ । कामका आधारमा बजेट विनियोजन र विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा आएको नतिजाको आधारमा मूल्यांकनसमेत गर्न थालेको भेरी नगरपालिकाले जनाएको छ ।

भेरी नगरपालिकाले १३ वटा सामुदायिक विद्यालय छनोट गरी आधुनिक प्रविधिमार्फत शिक्षण आरम्भ गरेको जनाएको छ । डिजिटल प्रविधिमार्फत शिक्षण गर्ने गरी विद्यालय छनोट गरी शिक्षण कार्य अगाडि बढाएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए । बढ्दो आधुनिकतासँग विद्यार्थीका इच्छा र रुचिको सम्बोधन गर्दै शिक्षणमा आधुनिकता ल्याएको उनको भनाइ छ । डिजिटल प्रणाली प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीले छिटो बुझ्ने गरेको उनको भनाइ छ ।

विद्यार्थीले अंक, शब्द छुनेबित्तिकै आवाज आउने (टकिङ टिचर सिस्टम), पाठ्यपुस्तक, स्पिकर, नबोल्ने किताब, पेनड्राइभलगायत शैक्षिक सामग्री विद्यालयलाई उपलब्ध गराई शिक्षण कार्य आरम्भ गरिएको भेरी नगरपालिकाका प्रेस सल्लाहकार रामचन्द्र घर्तीले बताए । यो विधिमार्फत बालकक्षादेखि कक्षा ५ सम्म पठनपाठन सुरु गरिएको हो । नगरपालिकाभित्रका ५५ विद्यालयमा अर्को वर्षसम्म डिजिटल प्रविधि विस्तार गरिने उनको भनाइ छ ।

शिक्षक तह लगाउन सिसिक्यामेरा

कुसे गाउँपालिकाले शिक्षा क्षेत्रमा अनुदानमा शिक्षक नियुक्ति प्रक्रियादेखि विद्यालयमा सिसिक्यामेरा जडान, विद्युतीय हाजिरीसम्म जडान गरी शिक्षक–विद्यार्थीमाथि निगरानी बढाएको छ । प्रत्येक वडामा एक विद्यालय पर्ने गरी नौवटा विद्यालय छनोट गरी (टकिङ टिचर सिस्टम) मार्फत शिक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । काम नगर्ने शिक्षकलाई विद्यालयमा नियमित पठनपाठनमा सरिक गराउन विद्युतीय हाजिरीको व्यवस्था गरी निगरानी बढाइएको उनको भनाइ छ ।

यो आर्थिक वर्षको पहिलो चौमासिकमा विद्यालयमा नियमित अध्यापन नगर्ने तीन शिक्षकको तलब रोक्का गरिएको छ । कम शिक्षक भएका विद्यालयमा गाउँपालिकामार्फत शिक्षक नियुक्ति गरी शिक्षणलाई प्रभावकारी बनाउन काम सुरु भइसकेको बस्नेतले जानकारी दिए ।

यस्तै, नलगाडले १४ वटा नमुना विद्यालय छनोट गरी पहिलो चरणमा आधुनिक प्रविधि प्रयोग गरी शिक्षण कार्य सुरु गरेको छ । यो प्रविधिबाट विद्यार्थीले पाएको ज्ञानका आधारमा अन्य विद्यालयमा समेत डिजिटल प्रविधि विस्तार हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । १३ वटा विद्यालयमा (टकिङ टिचर सिस्टम) मा पढाइ सुरु भइरहेको छ । प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस स्थापना गरी विद्यार्थीको स्वास्थ्य अवस्था जाँच हुने गरेको उनले बताए ।

छेडागाड नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि बालिका सम्मेलन र विद्यालयमा जागरण शिक्षा नै सञ्चालन गरेको छ । शैक्षिक स्तर सुधार गर्ने विद्यालयलाई प्रत्सोहनस्वरूप सहयोग गरिने स्थानीय तहहरूले जनाएका छन् । शिवालय, बारेकोट, जुनिचाँदे गाउँपालिकामा पनि विभिन्न नयाँ नमुना प्रयोग गरी शिक्षण भइरहेको शिक्षा शाखाले जनाएको छ ।