‘ड्रोन’ उडाउँदै सामुदायिक विद्यालयका विद्यार्थी

2019-12-19


 गोपालप्रसाद बराल महोत्तरी, ३ पुस :  टिफिन हुँदा होस् कि कुनै घण्टी ‘लिजर’ हुँदा होस्, महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रा चउरमा उफ्रिएका देखिँदैनन् । टिफिनको घण्टी बज्नासाथ आपूmआबद्ध क्लबको प्रयोगशालामा छात्रछात्रा पुग्छन् र प्रयोगात्मक अभ्यासमा तल्लीन हुन्छन् ।

बाल कक्षादेखि १२ कक्षासम्म अध्ययन हुने यो सामुदायिक विद्यालयमा प्राविधिक धारका पशुविज्ञान र कृषि विज्ञान सङ्कायको ‘डिप्लोमा’ तहको पठनपाठन पनि हुँदै आएको छ । विद्यालयका विद्यार्थी आफ्नो अध्ययनको विषय र अभिरुचिअनुसार भेटेरेनरी, विज्ञान तथा प्रविधि, कला–साहित्य, कृषि विज्ञान र जनता तेक्वान्दो एकेडेमी क्लबहरूमा आबद्ध छन् । सबै क्लबका छुट्टाछुट्टै प्रयोगशाला छन् ।

एकछिन पढाइको घण्टीबाट अवकाश हुनासाथ विद्यार्थी प्रयोगशालामा अभ्यास गर्न थाल्छन् । भर्खरै कक्षा १२ का विज्ञान तथा प्रविधि क्लबमा आबद्ध छ जना छात्रले ‘ड्रोन’ (चालकरहित विमान) को परीक्षण उडान सफलताका साथ सम्पन्न गरेका छन् । पुस सङ्क्रान्तिका दिन सार्वजनिक समारोहबीच ‘ड्रोन’ उडाएका छात्रहरुले यसले १५ किलोग्रामसम्मको वजन बोकेर ५० मिटर माथिसम्म उड्ने जानकारी पनि दिएका थिए ।

ठाउँ विशेषको अवलोकन गरेर तस्बिर लिनसक्ने र कृषि कार्यमा पानी खिचेर सिँचाइ प्रयोजनका लागि निश्चित ठाउँमा पु¥याइने परिकल्पनासमेत गरेर ‘ड्रोन’ बनाइएको क्लबका छात्र सुजन कालिकोटेको भनाइ छ । यो ‘ड्रोन’ छात्रहरु सुजन कालिकोटे, शिशिर भण्डारी, रोजन शाशङ्कर, दृश्य खनाल, राजकमल चौधरी र ऋषिराज सिंहले तयार गर्नुभएको हो ।

कक्षा १२ का अतिरिक्त विज्ञान तथा प्रविधि क्लबमा आबद्ध कक्षा ८, ९ र १० का छात्रछात्राले प्रयोगशालामै स्थानीय कच्चा पदार्थ प्रयोग गरेर हात धुने साबुन तयार गरेका छन् । अमला, निम, क्षार र खाने तेलसहितका आफ्नै ठाउँमा उपलब्ध कच्चा पदार्थबाट बनाइएको साबुन नै विद्यालय परिवारले प्रयोग गर्ने गरेको छ । यसबाहेक यस क्लबमा आबद्ध विद्यार्थी भ्याकुम क्लिनर, हाइड्रोलिक लिफ्ट, रुम हिटर, केबलकार, लाइफाइ (प्रकाशबाट ध्वनी तरङ्ग व्यवस्थित गर्ने) र टाइम बमसम्मको परिकल्पनामा आधारित अभ्यास गरिरहेका छन् । त्यसैगरी कला–साहित्य क्लबमा आबद्ध छात्रछात्राले मिथिला कला, घर व्यवस्थापन र झरनालगायतका प्राकृतिक सम्पदाका सजीव चित्र उतारेका छन् ।

विद्यालयका कृषि विज्ञान र भेटेरेनरी क्लबमा आबद्ध छात्रछात्राले वैज्ञानिक माछा फारम, पोल्ट्री फार्म (कुखुरापालन) र पशुपालनभित्रको गोठ व्यवस्थापनबारे प्रयोगात्मक अभ्यास गरिरहेका हुन्छन् । सामुदायिक विद्यालय भन्नासाथ ‘त्यहाँ के पढाइ हुन्छ र ?’ भन्ने आम धारणा बन्ने गरे पनि जनता मावि गौरीडाँडाले व्यवस्थापकीय चाँजो र समर्पण भए उत्कृष्ठ पठनपाठन हुन सक्छ भन्ने उदाहरण दिएको यस भेगका शिक्षाविद् बताउँछन् ।

आफ्ना नानीहरुको अध्ययनप्रतिको अभिरुचि र नयाँ–नयाँ प्रविधिको अभ्यासमा व्यस्त हुने बानीले यहाँका अभिभावक दङ्ग छन् । “हैन, साँच्चै पो उडाए त” विद्यार्थीले ‘ड्रोन’ उडाउँदाका प्रत्यक्षदर्शी स्थानीय अभिभावक बर्दिवास–१ का चन्द्रबहादुर कालिकोटेले भन्नुभयो, “वातावरण पाए त यतैका (गाउँघरका) विद्यालयका विद्यार्थीले पनि ठूला सफलता पाउने रहेछन् ।” नगरपालिका भनिए पनि ग्रामीण परिवेशभित्रको यो विद्यालयले प्राप्त गरेको उपलब्धि महोत्तरी जिल्ला भित्रकै लागि अनुकरणीय बनेको आम अभिभावक र यस भेगका शिक्षाविद् बताउँछन् । अभिभावकको नियमित अनुगमन र जिज्ञासा, विद्यालय व्यवस्थापन समितिको तालिकाभित्रको काम, शिक्षकको सिकाइ पद्धतिप्रतिको समर्पण र तदनुरुपको क्रियाशीलता र विद्यालयमा अनुगमनमा आउने विज्ञहरुका सुझाव नै आफ्नो विद्यालयको सफलताको रहस्य रहेको प्रधानाध्यापक दीपक बराल बताउनुहुन्छ ।

विद्यालयले विद्यार्थीको नियमित उपस्थिति र उनीहरुको सिकाइसम्बन्धी प्रगतिबारे अभिभावकसँग सिधा सम्पर्क स्थापित गर्न ‘फोनइन’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट विद्यालयले कुनै विद्यार्थी अनुपस्थित हुनासाथ अभिभावकलाई फोन गरेर सोधखोज गर्ने र विद्यार्थीको प्रगति विवरण सुनाउने गरिएको छ । त्यसैगरी विद्यालयको सेवा क्षेत्रमा अभिभावकका आमाहरुलाई सङ्गठित गरेर विद्यालय आमा समूह गठन गरिएको छ । घरमा हुँदा विद्यार्थीलाई गृहकार्य गर्न, घरव्यवहारका काममा सरिक गराउन र पढाइसम्बन्धी उत्प्रेरणा जगाउने काम आमा समूहले गर्ने गरेको विद्यालयका शिक्षक नेत्र रम्तेल बताउनुहुन्छ ।

विसं २०३१ पुस १ गते गौरीडाँडाका केही उत्साही शिक्षाप्रेमीले सानो छाप्रोमा पठनपाठन शुरु गराउनुभएको यो विद्यालय अहिले जिल्लाकै साधन सम्पन्न मानिन्छ । विद्यालयमा भर्नाका लागि आवेदन माग्दा निकै टाढासम्मका आवेदन प्राप्त हुने गरेको र सिटको सीमितताले इच्छित सबैलाई भर्ना गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयमा अहिले एकहजार १३२ विद्यार्थी छन् । तीमध्ये ४९० छात्राको सङ्ख्या छ । यही कूल सङ्ख्याभित्र डिप्लोमा तहको पशुविज्ञान र कृषि विज्ञान विषयमा क्रमशः विद्यार्थी सङ्ख्या ११९ र १२१ रहेको प्रधानाध्यापक बरालले जानकारी दिनुभयो ।

विद्यालयमा माध्यमिक, प्राथमिक र डिप्लोमा तहका समेत ५० जना शिक्षक छन् । तीमध्ये १० जना मात्र स्थायी र अन्य करार नियुक्तिका रहेका विद्यालय प्रशासनले जनाएको छ । यसबाहेक पुस्तकालय हेर्ने, खेल प्रशिक्षक, दृष्टिविहीन छात्रछात्रालाई ब्रेललिपि पढाउने शिक्षक, कार्यालय सहयोगी र सुरक्षा गार्डसहित आठ कर्मचारी रहेका छन् ।

विद्यालयको पठनपाठनबारे महोत्तरीसहितका छिमेकका जिल्लामा सकारात्मक सन्देश प्रवाह हुँदा विद्यार्थीको चाप निकै बढेको छ । खासमा विद्यालयले निजी स्रोतबाट पारिश्रमिक दिनुपर्ने कर्मचारीका लागि रकम अभावको समस्या झेल्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गाना बताउनुहुन्छ । महोत्तरीको शिक्षा क्षेत्र आमरूपमा नियालिँदा जनता मावि गौरीडाँडा छुट्टै ठाउँको विद्यालय हो कि भन्ने लाग्ने गरेको जिल्लाका शिक्षाविद् बताउँछन् । एउटै जिल्लामै व्यवस्थापकीय चाँजो ठिक तरिकाले मिलाउँदा शिक्षा क्षेत्रमै गुणात्मक फड्को लगाउन सकिने उदाहरण जनता मावि गौरीडाँडाले बनाएको जिल्लाकै जलेश्वर–८ का बासिन्दा अवकाशप्राप्त मावि तहका शिक्षक सीताराम झाको भनाइ छ ।

(रासस)