दृष्टिविहीन स्रोत कक्षालाई सामग्री सहयोग

2019-02-15

RSS


–ध्रुवसागर शर्मा - गलेश्वर, ३ फागुन (रासस) : उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीलाई रु २१ हजार बराबरका सामग्री सहयोग गर्नुभएको छ । 

अध्यक्ष भण्डारीले कापी, कलम, मादल, सारङ्गी, पेनड्राइभ, स्पिकर, कम्प्युटरको किबोर्डलगायतका शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो । 

विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले स्रोत कक्षाका बालबालिका र स्रोत शिक्षक गणेश सुवेदीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ । 

गाउँपालिका अध्यक्षका रुपमा प्राप्त हुने सेवासुविधाको रकमलाई अध्यक्ष भण्डारीले कोषका रुपमा जम्मा गरेर सामाजिक क्षेत्रमा खर्चिने गर्नुभएको छ । कोषबाट यसअघि अध्यक्ष भण्डारीले बेग, पाखापानी, झिँ र भगवतीका १५ घरपरिवारका ७५ जना असहाय, अपाङ्गता भएका र विपन्न परिवारका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिदिनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।