छाउपडी प्रथा : महिनावारीमा विद्यालय नै टेक्दैनन् छात्रा

2019-03-28

Ekantipur


मोहन शाही, डोटी — केआईसिंह गाउँपालिका ५ जमलकट्टेस्थित भूवनेश्वरी माविमा कक्षा ८ मा पढिरहेकी निर्मला भट्टले डेढ वर्षयता महिनामा ४ दिन आफू पढ्ने विद्यालयमा पाइलै टेकेकी छैनन् । विद्यालय जान वञ्चित भएपछि त्यस अवधिमा उनका पाइला मेलापात गर्न वनपाखातर्फ लम्किन्छन् । कारण हो ‘महिनावारी’ । 

निर्मलाझैं महिनावारी भएका बेला भुवनेश्वरी माविका कुनै पनि छात्रा विद्यालय जाँदैनन् । गाउँसमाजले नै उनीहरूलाई महिनावारी भएका बेला विद्यालय जान बन्देज लगाएको प्रधानाध्यापक रमेश शाहीले बताए । उनले छात्राहरूलाई विद्यालय ल्याउन गरिएको पटकपटकको प्रयास विफल भएको स्विकारे । कानुनले समेत दण्डनीय अपराधका रूपमा लिएको छउपडी प्रथा विद्यालयमै अनुसरण गरिँदा आफू लज्जित हुनुपरेको प्रअ शाहीको दुखेसो छ ।

विद्यालयमा २ सय ६० विद्यार्थीमध्ये महिनावारी हुने उमेरका ६० बढी छात्राहरू रहेको शाहीले बताए । विद्यालय हाताभित्र उत्तर दक्षिण र पश्चिम कुनामा देउताका मन्दिर छन् । भुवनेश्वरी, मोहन्याल, दुर्गादेवी र भलबंगी देवताका मन्दिर भएर कक्षाकोठामा छिर्नुपर्ने भएकाले अनिष्ट हुने भन्दै आफूलाई विद्यालयमा घरबाटै आउन नदिने गरेको निर्मला बताउँछिन् ।

फागुनको तेस्रो साता विद्यालयमा रहेको दुर्गादेवी मन्दिर छेउमा घाम ताप्दै पढिरहेकी निर्मलाले भनिन्, ‘म मात्र होइन, अरू साथीहरू पनि यस्तो बेला आउँदैनन् । देवीदेउता रिसाउँछन् रे ।’ उनले विद्यालय आउने रहर भए पनि समाजको डरले आउन नसक्ने दुखेसो गरिन् । उनीसँगै पढ्न बसेकी शारदा जोशीले भने बेग्लै तर्क गरिन् । उनले महिनावारी भएका बेला आफैंलाई आउन डर लाग्ने बताइन् ।

‘हामीलाई बिसन्चो हुन्छ, परिवारमा पनि शान्ति हुन्न,’ शारदाले भनिन्,‘ सबैलाई सुख हुन्छ भने ४ दिन विद्यालय नआउँदा के बिग्रन्छ ।’ विद्यालयमै महिनावारीबारे व्याप्त अन्धविश्वास हटाउन थुप्रै पहल भए पनि समाधान भने निस्केको छैन । केही वर्षअघि विद्यालयकै मागअनुसार सम विकास केन्द्र नामक संस्थाले विद्यालयमा रहेको छाउपडी प्रथासम्बन्धी रुढीवादी परम्परा हटाउन पहल गरेको थियो । तर, विद्यालयमा छोरीहरू पठाउने प्रतिबद्धता गरे पनि अभिभावकहरूले व्यवहारमा उतार्न सकेनन् ।

विद्यालयको उत्तरतर्फ रहेको भवन नजिकै भलबंगी मन्दिर छ । शिक्षिकासमेत महिनावारीका बेला त्यो भवनमा रहेका कक्षा कोठाहरूमा पढाउन जाँदैनन् । विद्यालयमा ४ जना शिक्षिका कार्यरत छन् । एक शिक्षकले भने, ‘महिला शिक्षकहरू आफैं पनि विद्यालयमा मन्दिर छेउका कक्षाकोठामा नजाने भएपछि छात्राहरू जाने कुरै भएन ।’

विद्यालयले परीक्षाका बेला भने महिनावारी भएका छात्राहरूलाई ध्यानमा राखेर मन्दिरको बाटो जानु नपर्ने कक्षाकोठामा व्यवस्था गर्ने गरेको छ । ‘अहिले नयाँ भवन बनाइरहेका छौं, त्यसको मुनिका कक्षाकोठामा ठूला विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था मिलाउँदै छौं,’ प्रअ शाहीले भने, ‘ती कोठामा जान मन्दिरको बाटो खासै हिंड्नु पर्दैन ।’

शिक्षक शिक्षिकाहरू पनि छाउपडी प्रथाविरुद्ध खुलेर आउँदैनन् । समाजविरोधी भइने डर उनीहरूमा छ । ‘समस्या छ, थोरै जमिन भएको ठाउँमा विद्यालय भएकाले अर्को वैकल्पिक बाटो पनि छैन,’ विद्यालयका अर्का शिक्षक टेकराज जोशीले भने, ‘पटक–पटक विद्यालय प्रशासन र अभिभावकहरूबीच छलफल भए पनि उनीहरूले आफ्ना छोरीहरूलाई महिनावारी भएका बेला स्कुल पठाउनुहुन्न ।’

गत वर्ष यही समस्या हटाउन वडा कार्यालयले एक लाख बजेट विनियोजन गरेको थियो । मन्दिरको बाटो नभई सोझै कक्षाकोठामा जान मिल्नेगरी विद्यालयको किनारैकिनार गोरेटो बाटो बनाउन एक लाख रुपैयाँ छुट्याइएको वडाध्यक्ष रामचन्द्र राणाले बताए । ‘जमिनको विवादका कारण बाटो पनि भएन,’ अध्यक्ष राणाले भने ।