एसईई परीक्षा : सेटिङमा चिट चोर्न मोबाइल सुविधा !

2019-03-28

Annapurna Post


मनोहर पोखरेल, राजविराज : एसईई परीक्षामा सेटिङमै मोबाइलबाट चिट चोर्ने सुविधा दिने गरिएको भेटिएको छ। मोबाइल प्रयोगको सुविधा उपलब्ध गराइएको आरोपमा बुधबार बसेको माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले कमलेश्वरी किशुन झौलाई मावि वनरझुला केन्द्रका केन्द्राध्यक्ष रामअवतार गुप्ता र सह केन्द्राध्यक्ष देवनारायण मण्डललाई जिम्मेवारीबाट हटाएको छ।

केन्द्राध्यक्षमा बुद्धिलाल विद्या मुनर मावि भगवतपुरका प्रधानाध्यापक गजेन्द्रप्रसाद दासलाई खटाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। वनरझुला केन्द्रमा मोबाइलबाट चिट चोरेको भेटिएपछि अन्य चारजना निरीक्षक पनि रंगेहात पक्राउ परेका छन्। पक्राउ परेका खडक नगरपालिका ९ का मनोजकुमार चौधरी र वडा नम्बर १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका ४ का लगेन्द्रप्रसाद चौधरी र वडा नम्बर ८ का रामानन्द चौधरीलाई शिक्षा ऐन बमोजिम काारबाही हुने भएको छ। 

चिटका लागि प्रयोग भएकाा २२४ वटा मोबाइल फोन बरामद गरिएको छ। पक्राउ परेका केनद्राध्यक्ष र निरीक्षकहरुलाई तत्काल परीक्षा केन्द्रबाट निष्कासित गरी इलाका प्रहरी कार्यालय कडरबोना हुँदै जिल्ला प्रहरी कार्यालय पठाइएको इप्रका कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले जानकारी दिए। परीक्षा केन्द्रमा बिहान आठ बजेदेखि सुरु भएको गणित विषयको परीक्षामा बुधबार अधिकांश परीक्षा केन्द्रबाट धेरै संख्यामा मोबाइल बरामद भएपछि मोबाइल सुविधा दिने गरिएको पुष्टि भएको हो। 

परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि प्रवेशपत्र र शरीर चेकजाँच गर्ने गरिए पनि परिक्षार्थीले चिट चोर्न गेस पेपर र कागजको साटो मोबाइल प्रयोग गर्न थालेको पाइएपछि चेकजाँचका क्रममा मोबाइलहरु बरामद भएको हो। बुधबार महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका मधुकुमारी मण्डल, भूपेन्द्रकुमार साह र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ। 

उनीहरुले लवन मावि बमनगामा कट्टीबाट परीक्षा फारम भरेका थिए। चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए। त्यसैगरी कन्छु नरप्रताप मावि नकटी रायपुरबाट रामसागर यादवसहित दुई परीक्षार्थी र बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका एक परीक्षार्थी पनि बुधबार पक्राउ परेका छन्। तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले पुष्टि गरेको छ।

परीक्षा केन्द्रमा विद्युतीय सामाग्री ल्याउन निषेध गरिए पनि जुत्ता र संवेदनशील अंगमा लुकाएर ल्याउने गरेको र चिट चोर्न प्रयोग गर्ने गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका वीरेन्द्र चौधरीले बताए। उता पक्राउ परेका परीक्षार्थीले केन्द्राध्यक्ष, शिक्षक र शिक्षा कार्यालयका कर्मचारीकै संलग्नतामा मोबाइलको सुविधा पाइएको बताएका छन्।       

जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका दुई विद्यार्थीले पनि मोबाइल प्रयोग गरेको फेला परेपछि उनीहरुलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। पहिलो दिन फेला परेको ोबाइल अनुसन्धानका क्रममा ह्याप्पीलेण्ड सेकेण्डरी माविका अनिल साह र विमल दासको रहेको पत्ता लागेपछि बुधबारको परीक्षा सकिने बित्तिकै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। परीक्षर्थाीहरुलाई भने कागज गराई अभिभावकको जिम्मा छाडिएको छ।

सेटिङमै मोबाइल प्रयोग गर्न थालेको विद्यार्थीहरु बताउँछन्। मोबाइल प्रयोग गरी वाट्सअप, भाइबर र फेसबुक चाट म्यासेञ्जरको माध्यमबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तरहरु आएपछि उत्तर पुस्तिका उतार गर्ने गरिन्छ।

परीक्षा सञ्चालन भइरहेको अवधिमा पुग्ने प्रमुख जिल्ला अधिकारीसहितको प्रहरी, प्रशासन, शिक्षालगायत विभिन्न कार्यालयका प्रमुख, पत्रकार, स्थानीय पदाधिकारीहरुको छुट्टा–छुट्टै टोलीले चेक गरुञ्जेल मर्यादित तथा शान्तिपूर्ण रहने परीक्षा केन्द्रहरु टोली फर्कने बित्तिकै मोबाइलबाट उत्तर सार्न व्यस्त हुने गरेको टोलीमै संलग्नको स्वीकारोक्ति छ।