विद्यालयमा सीसीटीभी

2018-08-05

Ekantipur

Share this on:

रुकुम पश्चिम — मुसिकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाउँका प्रधानाध्यापक दामोदर पौडेलको जिम्मेवारी थपिएको छ ।

दैनिक प्रशासन सञ्चालन, शिक्षक, विद्यार्थीको अनुगमन, निरीक्षण,मूल्यांकनको अलावा केही दिनयता विद्यालयमा जडित सीसीटीभी कन्ट्रोलको जिम्मेवारी पनि प्रअ पौडेलमा आएको छ ।  

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माविका प्रअ दामोदर पौडेल सीसीटीभीमार्फत विद्यालयको निरीक्षण गर्दै । तस्बिर : हरि । कान्तिपुर

 विद्यालयले शिक्षक, विद्यार्थी तथा विद्यालयको हाताभित्र हुने कुनै पनि गतिविधिको निगरानी सीसीक्यामेराबाट गर्न थालेपछि उनी त्यसमा पनि व्यस्त हुन थालेका छन् । ‘शैक्षिक गुणस्तर बढाउनु मुख्य उद्देश्यसहित सीसीक्यामेरा जडान गरिएको हो,’ प्रधानाध्यापक पौडेलले भने, ‘प्रविधिको उपयोगमार्फत शैक्षिक गुणस्तर बढाउने लक्ष्य छ ।’ आठवटा सीसीक्यामेराबाट चार कक्षासहित विद्यालय प्रांगण, लेखा शाखा, कम्प्युटर कक्ष, कार्यालय कोठाको सीसीक्यामेराको निगरानीमा छन् । विद्यालयले बालशिक्षा, कक्षा १, कक्षा १० को ‘ए’ र ‘बी’ सेक्सनलाई पनि सीसीक्यामेराको निगरानीमा राखेको छ । केही समयमा थप क्यामेरा जोड्ने प्रअ पौडेलले बताए ।  

 विद्यालयमा सीसीक्यामेरा जडान गरिएपछि शिक्षक, विद्यार्थी, कर्मचारी तथा आगन्तुक सचेत भएका छन् । आफूले गरिरहेको हरेक गतिविधि सीसीक्यामेराबाट देखिने तथा त्यो रेकर्ड पछिसम्म पनि रहने भएकाले सबै सचेततापूर्वक काममा रहेको भनाइ प्रअ पौडेलको छ ।सीसीक्यामेरा जडानपछि विद्यालयका सबै गतिविधि रेकर्डेड हुने भएकाले विद्यालय अनुगमन गर्न आउने निकायलाई पुराना गतिविधिसमेत देखाउन मिल्ने भएकाले त्यसबाट पनि विद्यालयले फाइदा लिन सक्ने बताइएको छ । विद्यालयले सीसीक्यामेरासँगै डिजिटल हाजिरी पनि सुरु गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केही दिन अघिदेखि डिजिटल हाजिरी सुरु गरिसकेका छन् ।  

 शिक्षक तथा कर्मचारीले विद्यालय आउने र घर जाने समयमा अनियमितता नगरुन् भनेर डिजिटल हाजिरी सुरु गरिएको विद्यालयले जनाएको छ । मुसिकोट नगरपालिका–५, नम्बर वडा कार्यालयबाट प्राप्त दुई लाख नगदमध्येबाट एक लाख ५० हजार रुपैयाँ खर्चेर सीसीक्यामेरा र डिजिटल हाजिरी जडान गरिएको हो ।

बत्ती नभएको समयमा पनि सोलार प्रणालीबाट सीसीक्यामेरा र डिजिटल हाजिरी चालु भइराख्ने विद्यालयले जनाएको छ । विद्यालयले यसअघि नै तल्लो कक्षामा प्रोजेक्टरको सहयोगमा पठनपाठन र विद्यार्थीलाई सिकाउँदै आएको छ भने माथिल्लो कक्षामा ‘भच्र्युअल’ कक्षा सञ्चालन गरिरहेको छ । पाठ्यपुस्तकमा रहेको विषयवस्तु पठनपाठन प्रोजेक्टरबाट गराउने पनि गरिएको छ ।