विद्यालय भवन निर्माणमा सघाउँदै अस्ट्रेलियाका नागरिक

2018-12-02

Nayapatrika


तनहुँ  :व्यास नगरपालिका–५ स्थित सिन्धु प्राथमिक विद्यालयको भवन निर्माणमा विदेशी नागरिक जुटेका छन् । वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सो भवन निर्माणमा अस्ट्रेलियाबाट आएका आठजनाले सघाइरहेका छन् ।

जीर्ण भवन मर्मत र निर्माणका लागि विभिन्न निकायसँग सहयोग माग्ने क्रममा अस्ट्रेलियन नागरिकसँग सम्पर्क भएको विद्यालयका शिक्षक मदन वाग्लेले बताए । उनीहरूले सहयोग गर्ने प्रतिबद्धता मात्रै जनाएनन्, स्थानीयसँग मिलेर तत्काल भवन निर्माणमा आएको उनको भनाइ छ । ‘उनीहरूले गैँची लगाउने, बेल्चाले माटो फाल्ने, गाह्रो लगाउने, इँटा ओसार्ने, ढुंगा फुटाउनेलगायत काम गरिरहेका छन्,’ उनले भने, ‘दुई महिनाभित्र विद्यालय भवन हस्तान्तरण गर्ने योजना बनाएका छन् ।’

सो विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका दलित, पिछडिएका र विपन्न परिवारका छन् । भवन अभावकै कारण बालबालिका पठनपाठनबाट वञ्चित हुनुपर्ने अवस्था आएपछि ‘दिस वल्र्ड एक्जिट’ नामक संस्थाले साथ दिएको हो । संस्थाका कन्ट्री डाइरेक्टर अनिश शाहका अनुसार गरिब र विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने लक्ष्यसाथ अघि बढेका हौँ ।
पर्यटकका रूपमा नेपाल आएका विदेशी नागरिक मात्रै देखेका स्थानीयवासी उनीहरूले बेल्चा र गैँची चलाएको देखेर दंग पर्ने गरेका छन् ।

विदेशी नागरिकले काम गरेको हेर्नेहरूको भिड लाग्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक रामबहादुर नेपालीले विदेशीले गैँची, बेल्चा लिएर भवन निर्माणमा जुटेको देख्दा स्थानीय चकित परेको बताए । ‘उनीहरूले काम गरेको देखेर स्थानीयमा पनि ऊर्जा मिलेको छ,’ उनले भने, ‘एक साताअगाडि पनि अस्ट्रेलियाका नागरिक आएर ५ दिन काम गरी फर्किएका थिए, अहिले आएका आठजना विदेशी नागरिक पनि केही दिनपछि फर्किनेछन् ।’

जीर्ण अवस्थामा रहेको सो विद्यालयको भवनको कोठामा बर्खायाममा पानी चुहेर भित्र बस्न नसक्ने अवस्थाको थियो । नयाँ भवन बनेपछि सो समस्या हट्ने विश्वास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले गरे । न्यौपानेले विद्यालय भनव निर्माणमा विदेशी नागरिकले गरेको सहयोगको प्रशंसा गरे ।

आठजना विदेशी भवन निर्माणमा
भवन निर्माणमा दैनिक ८ जना अस्ट्रेलियन नागरिक खटिएका छन् । उनीहरूलाई स्थानीयले पनि निरन्तर साथ दिँदै आएका छन् । भवन निर्माण करिब ७० प्रतिशत पूरा भइसकेको छ । संस्थाले विद्यालयको पाँचकोठे भवन निर्माणका लागि २५ लाख सहयोग गरेको हो ।