कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि

2019-05-23

Ekantipur

Share this on:

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ कान्तिपुर हिसान शैक्षिक मेला बिहीबार सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त आयोजना हुने मेलाको यो छैटौं संस्करण हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेलाको उद्घाटन हुने हिसानले जनाएको छ ।

‘कान्तिपुर हिसान एडुफेयर–२०१९’ मेला आगामी आइतबारसम्म चल्नेछ । 

एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हो । 

‘एसईई परीक्षाको नतिजा पर्खाइमा रहेका देखि उच्च शिक्षा कहाँ, कुन र कस्तो विषय पढ्ने भन्नेबारे सम्पूर्ण जानकारी दिने शैक्षिक मेलाको मुख्य उद्देश्य हो,’ हिसानका महासचिव लोकबहादुर भण्डारीले भने, ‘अभिभावकले स्वदेशमै अब्बल शैक्षिक संस्थाहरू छन् र गुणस्तरीय शिक्षा दिने शैली, तौरतरिका तथा उनीहरूको स्थितिबारे जान्न सक्नुहुनेछ ।’

हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक युवराज शर्माले शैक्षिक मेलाको तयारी पूरा भएको जनाए । ‘प्रदर्शनी कक्षहरूमा सबै किसिमको व्यवस्थापन तयारी पूरा भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट उद्घाटन भएलगत्तै सबैले अवलोकन गर्न, जिज्ञासा मेट्न सक्नुहुनेछ ।’ 

प्रदर्शनीस्थलको भित्र र बाहिर गरी १५० स्टल छन् ।मेलामा स्वेदशमै सुचारु शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउनेछन् । शिक्षालयहरूले कुन विषय किन पढ्ने, विषय छनोटजस्ता अन्योलबारे विद्यार्थीलाई जानकारी तथा परामर्श दिनेछन् ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ । 

विभिन्न संस्थाको प्रस्तुतिका साथै विज्ञहरूको सहभागिता शिक्षा तथा प्रविधिलगायत विविध शैक्षिक जानकारीमूलक र विषयगत सेमिनारसमेत हुनेछन् । अवलोकनका निम्ति निःशुल्क प्रवेश, विभिन्नकलेजले निःशुल्क छात्रवृत्तिसमेत दिने जनाइएको छ ।

हिसान कस्तो संस्था हो ?

सरकारले उच्च माध्यमिक शिक्षा परिषद् गठन गरी कक्षा ११ र १२ उच्च माध्यमिक तह सञ्चालनमा आयो । त्यसैअनुसार निजी क्षेत्रबाट खुलेका उच्च माध्यमिक विद्यालयहरूको व्यावसायिक संगठनका रूपमा उच्च माध्यमिक विद्यालय संघ (हिसान) २०५३ सालमा गठन भयो ।

शिक्षा ऐन परिवर्तनसँगै कक्षा १२ सम्म माध्यमिक तहमा आएसँगै राष्ट्रिय परीक्षा बोर्ड गठन भयो । त्यसैअनुसार हिसानको विधान २०७४ मा परिवर्तन गरेका छौं । अहिले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कायम गरेका छौं । विगतमा हिसान भनेको कक्षा ११ र १२ मात्र सीमित थियो भने अहिले दायरा फराकिलो भएर माध्यमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक संस्थाहरूको साझा संगठन बनेको छ । राष्ट्रिय परीक्षा बोर्डदेखि विश्वविद्यालयसम्म विविध विषयमा लबिङ गर्ने संस्था बनेको छ ।

संघीय नेपालमा हिसानले कस्तो भूमिका खेल्छ ?

हिसान विगत २३ वर्षदेखि एउटै केन्द्रीकृत संरचनामा थियो । यसको संशोधित विधान यही जेठमा हुने राष्ट्रिय सम्मेलनले पारित गरेपछि संघीय संरचनाअनुकूल बन्नेछ । 

संविधानतः विद्यालय शिक्षा स्थानीय सरकारमातहत रहेको छ । विश्वविद्यालय संघ र प्रदेशका साझा अधिकारभित्र रहेको छ ।

हिसान अब प्रादेशिक संरचनामा प्रदेश समन्वय समिति, जिल्ला समिति रहन्छ । हिसानले प्रदेश विश्वविद्यालय र केन्द्रीय विश्वविद्यालयसित लबिङ गर्नेछ । अब बन्ने संघीय शिक्षा ऐनमा निजी क्षेत्रको भूमिकालाई सहज अवतरण गराउने भूमिका खेल्नेछ ।

कान्तिपुर हिसान शैक्षिक मेलाको छैटौं संस्करणसम्म आइपुग्दाको अनुभव ?

शैक्षिक मेला आयोजना गर्ने धेरै संस्था छन् । विगतमा भएका शैक्षिक मेलामा हिसानको सहभागिता रहँदै आयो । 

विदेशी संस्था, परामर्शदाता कम्पनीहरूसित सहकार्य भयो तर कन्सल्टेन्सी गरेर विद्यार्थी विदेश जान्छन् । एउटै मेलामा तीन थरी व्यवहार भयो । हामी राज्यका निम्ति स्वदेशमै गुणस्तरीय शिक्षा दिन चाहन्छौं ।

त्यसैले गर्दा ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा लिएर छुट्टै शैक्षिक मेला आयोजना गर्दैआएका हौं । मेलाले गर्दा मुलुकभित्रकै शैक्षिक संस्थाले गरेको शैक्षिक गतिविधिलाई स्वस्थ प्रतिपर्स्धा बढेको छ । हामीले कान्तिपुर पब्लिकेसन्ससित सहकार्य गरेका छौं । मेलाले नयाँ जागरण ल्याएको छ ।

विगत र अहिलेको शैक्षिक मेलामा के भिन्नता छ ?

हिसान मुलुकमा सञ्चालित शैक्षिक संस्थाहरूको सबैभन्दा ठूलो संगठन हो । यो संस्थाले उच्च शिक्षा प्रवर्द्धनका निम्ति खेलेको भूमिकाप्रति आम शिक्षाकर्मी, शिक्षासेवी, अभिभावक, विद्यार्थी सबैलाई जानकारी छ । छैटौं संस्करणको ‘कान्तिपुर हिसान एडुफेयर–२०१९’ लाई अझै भव्य, सभ्य र गुणस्तरीय परामर्श दिने लक्ष्य राखेका छौं ।

विद्यालयदेखि विश्वविद्यालय तहसम्मका सम्पूर्ण जानकारी दिन्छौं । प्रधानमन्त्रीज्यूबाट मेलाको उद्घाटन हुनेछ । मेलाभरि परामर्श लिन आउनुहुने विद्यार्थी र अभिभावको सहभागितामा विभिन्न विषयका विज्ञको उपस्थितिमा अन्तर्क्रिया, छलफल हुनेछ ।