प्रयोगात्मकमा ‘शतप्रतिशत’

2018-08-07

Ekantipur

Share this on:

काठमाडौं – कक्षा १२ को गत साता प्रकाशित नतिजामा लिखित परीक्षामा थोरै नम्बर ल्याउने विद्यार्थीलाई पनि प्रयोगात्मकमा शतप्रतिशत नम्बर दिएको भेटिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षामा सुधार गर्न देशभर अभियान चलाए पनि नतिजा दिने प्रवृत्तिमा भने खासै सुधार आएको छैन ।

व्यवस्थापन, मानविकी र शिक्षा संकायमा विषय शिक्षकले प्रयोगात्मकको नम्बर परीक्षा बोर्डमा पठाएका थिए भने विज्ञान संकायका विषयमा बाह्य निरीक्षक पठाएर प्रयोगात्मक परीक्षा लिइएको थियो । तर, शतप्रतिशत नम्बर दिने प्रवृत्ति अन्त्य हुन सकेन । बोर्डले प्रयोगात्मक परीक्षामा सुधार गर्न यसपटक मुलुकभरका बाह्य निरीक्षक, विषय शिक्षक र केन्द्राध्यक्षका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रयोगात्मक परीक्षामा योजनाअनुसार सुधार गर्न नसकिएको स्वीकार गरे । ‘गत वर्षभन्दा थोरै सुधार भएको त पाइयो तर सोचेजस्तो हुन सकेन,’ उनले भने । 

यसपालि पहिलोपटक ग्रेडिङ प्रणालीमा कक्षा १२ को नतिजा प्रकाशन गरिएको थियो । भौतिक विज्ञान विषयमा ६ सय २८ विद्यार्थीले मात्रै ‘ए प्लस’ ग्रेड प्वाइन्ट प्राप्त गरेका छन् तर सोही विषयमा ३३ हजार ५ सय विद्यार्थीलाई प्रयोगात्मकतर्फ ‘ए प्लस’ ग्रेड प्वाइन्ट दिइएको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार लिखित परीक्षामा उच्च ग्रेडबाट निम्न ग्रेड पाउने विद्यार्थीको संख्या क्रमश: बढ्दो छ भने सोही विषयको प्रयोगात्मकतर्फ ठीक उल्टो उच्च ग्रेड पाउनेको संख्या घट्दो छ । लिखितमा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई पनि बाह्य निरीक्षक र विषय शिक्षकले अधिकतम नम्बर दिएका छन् ।

जीवविज्ञानमा २७ हजार परीक्षार्थीमध्ये एक जनाले पनि लिखितमा ‘ए प्लस’ ग्रेड ल्याएका छैनन् । तर १९ हजार विद्यार्थीलाई प्रयोगात्मकतर्फ ‘ए प्लस’ ग्रेड प्वाइन्ट दिइएको छ । विषय र संकायअनुसार २०, २५ र ५० पूर्णांकको प्रयोगात्मक परीक्षा लिने गरिन्छ । कम्प्युटर विज्ञानको लिखितमा १ सय २९ जनाले ‘ए प्लस’ ल्याएका छन् भने प्रयोगात्मकमा १२ हजार ४ सय ३० जनालाई ग्रेड प्वाइन्ट ‘ए प्लस’ दिइएको छ । प्रयोगात्मक परीक्षा हुने अधिकांश विषयमा लिखित परीक्षामा थोरै नम्बर ल्याउने विद्यार्थीलाई पनि प्रयोगात्मकमा धेरै नम्बर दिइएको हो । स्वास्थ्य र शिक्षा विषयमा ८ जना विद्यार्थीले मात्रै लिखित परीक्षामा ‘ए प्लस’ ल्याएका छन् तर २८ हजार ९ सय जनालाई प्रयोगात्मकमा शतप्रतिशत अंक दिइएको छ । जनसंख्या र शिक्षामा ३० हजार विद्यार्थीलाई प्रयोगात्मकमा ‘ए प्लस’ ग्रेड दिइएको छ तर लिखितमा १४ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन् । उक्त विषयमा २१ हजार विद्यार्थीले ‘डि प्लस’ भन्दा कम जीपीए ल्याएका छन्, प्रयोगात्मकमा भने ती सबैले ‘सी’ भन्दा बढी ग्रेड प्राप्त गरेका छन् ।

प्रयोगात्मक परीक्षामा सुधारका लागि आगामी वर्ष पनि पहल गर्ने सदस्यसचिव अर्यालले बताए । ‘यसपालि विशेषगरी बाह्य निरीक्षकलाई अभिमुखीकरण गरेका थियौं,’ उनले भने, ‘आगामी वर्षदेखि परीक्षामा सहभागी हुने सबै पक्षलाई अभिमुखीकरण गरेर सुधार प्रयास गर्छौं ।’ प्रयोगात्मक परीक्षा कसरी सञ्चालन गर्ने भनेर एकरूपता ल्याउन मापदण्ड नै बनाउन जरुरी हुने बोर्डका पदाधिकारीले जनाएका छन् । ‘धरै नम्बर दिनेभन्दा पनि विद्यार्थीको समग्र पक्ष, वर्षभरिको क्रियाकलाप, कक्षा कार्य, प्रयोगात्मक परीक्षाको पूर्वतयारीलाई ख्याल गरेर मात्रै नम्बर दिनुपर्छ,’ उनले भने ।