Want to build a career in Media Sector, Media Technology course is a better option

2014-04-05

edusanjal

Share this on:

 

समय आउँछ, पर्खदैन यो भनाइलाई आधार मानेर अर्को कुरा पनि भन्न सकिन्छ, अवसर आउँछ, तर त्यसले पर्खदैन। यो जमाना मिडियाको हो, विज्ञहरू यसै भन्छन्। उनीहरू भन्छन्, मिडियामा काम गर्न पाउनुलाई अहिलेको पुस्ताले उत्कृष्ट अवसरका रूपमा बुझ्नुपर्छ। मिडियामा काम गर्नलाई आर्थिक पाटोसँग जोडेरमात्र नहेरिने भएकाले पनि हुनसक्छ, मिडियाको अवसरलाई अक्सर सबैले उपयोग गर्ने रणनीति लिन्छन्। समयअनुसार घटनालाई मिडियाले एउटा मोड दिन सक्छ, त्यति मात्र होइन मिडियामा लगनशील तथा संवेदनशील भएर कार्यरत व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण पनि उच्च हुँदै गएको छ। 

अब मिडियाको नेपाली स्वरूप पनि वृहत् भएको छ। कुनै बेला प्रिन्ट मिडिया र रेडियोको साँघुरो घेरा पनि अहिले आएर फराकिलो भैसकेको छ। एक दर्जनभन्दा बढी ब्रोडसिट पेपर, दर्जनौं ट्याब्लाइड, मोफसलका सयौं पत्रिका, १ सय ५२ वटा एफएम आदिले यसलाई पुष्टि गर्छन्। अढाइ दशकअघिदेखि सञ्चालनमा आएको टेलिभिजन च्यानलको संख्या पनि अहिले एक दर्जन पुगिसकेको छ। त्यस्तै सयौंकै संख्यामा अनलाइन मासमिडियाको क्षेत्र अलग छ। निष्कर्षमा भन्दा जनआन्दोलन २०४६ को राजनीतिक परिवर्तनपछिको नेपाली समाजले सबैभन्दा तीव्र गतिमा विकास गरेको कुरा भनेकै आमसञ्चार अर्थात् मिडिया हो।

मिडियामा भएको विकासलाई आधार मानेर नै सेर्फड कलेजले मिडिया टेक्नोलोजीमा पहिलो पटक स्नातकोत्तर कक्षा प्रारम्भ गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मिडिया टेक्नोलोजीमा स्नातक तह अध्यापन गराउँदै आएको उक्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको हो। 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल मानविकी क्याम्पसले तथा अन्य सम्बन्धन प्राप्त कलेजहरूले पत्रकारितामा प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मकै कार्यक्रम सञ्चालन गरेको भए पनि सेर्फडले तालिमको शैलीमा प्रयोगात्मक विधिबाट आफ्ना कक्षाहरू सञ्चालन हुने तथा आफ्नो पाठ्यसामग्री समय सुहाउँदो भएको जिकिर गरेको छ। त्यसो त तालिमका रूपमा नेपाल प्रेस इन्स्िटच्युट, हिमाल एसोसिएसन तथा अन्य निजीस्तरका संस्थाले पनि आमसञ्चारको छोटो समयको पाठ्यक्रममा अध्यापन गराउँछन्। 

आमसञ्चारमा महिलाहरूको सहभागिता पनि उत्तिकै चाखलाग्दो पक्ष हो। पुरुषको हाराहारीमा महिला सञ्चारकर्मी कार्यरत रहनुले महिलाको करिअरका निम्ति यो क्षेत्र सुरक्षित छ भन्ने पुष्टि हुन्छ। 'कुनै बेला थियो, १८ किलोग्रामका भिडियो क्यामेरा बोक्नकै लागि भए पनि क्यामरापर्सनमा पुरुष आवश्यक मानिन्थ्यो' सेर्फड कलेजबाट मिडिया टेक्नोलोजीमा स्नातक -बीएमटी) उत्तीर्ण गरेर हाल सोही कलेजमा स्नातकोत्तर -एमएमटी) गरिरहेकी उषा भट्टले भनिन्- 'तर अहिले पोर्टेबल क्यामेरा आइसकेपछि त्यसको सही उपयोगका निम्ति महिला आवश्यक मान्न थालिएको छ, पुरुषको तुलनामा महिलाले सार्प मुभी क्याप्चर गर्न सक्छन् भन्ने कुरा  पुष्टि भैसकेको छ।'

रिपोर्टिङकै क्रममा पनि महिलाहरू पुरुषको तुलनामा गम्भीर भएर काम गर्ने भएकाले उनीहरूले यो क्षेत्रमा पर्याप्त अवसर पाउने सम्भावना छ। त्यस्तै आमसञ्चारका सबै माध्यमको प्राविधिक ज्ञान पनि हासिल गर्न सकिने भएकाले विद्यार्थीले सबै माध्यममा जमेर काम गर्न सक्छन्। 'मिडियामा ग्ल्यामरस वेबाट मात्र होइन, पर्फ]{ट कामका हिसाबले पनि महिलाको आवश्यकता अपरिहार्य मानिएको छ' सेर्फड कलेजका कार्यकारी निर्देशक अनन्त मैनाली भन्छन्-'वानमेन जर्नालिज्मको कन्सेप्ट विकास भैसकेकाले टेक्निकल्ली मिडियालाई लिड गर्न सक्ने महिलाले जहाँ बसेर पनि आफ्नो काम फत्ते गर्न सक्ने अवस्था आइसकेको छ।'

मिडिया टेक्नोलोजीअन्तर्गत प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाइन सबै माध्यममा विद्यार्थीलाई समयानुकूल कसरी पोख्त बनाउन सकिन्छ भनेर नै सेर्फडले पाठ्यक्रम तयार पारेको छ। कार्यकारी निर्देशक अनन्त मैनालीका अनुसार विद्यार्थीले सबै माध्यमको काम गर्ने शैलीका बारेमा व्यावहारिक ज्ञान हासिल गर्न सकून भनेर यो कार्यक्रमलाई अघि बढाइएको छ। कलेजबाट उच्च शिक्षा हासिल गरेका धेरै महिला आमसञ्चारका विभिन्न क्षेत्रमा कार्यरत रहेको कार्यकारी निर्देशक मैनालीले बताए। कलेजले अध्ययन सकिन ६ महिना बाँकी रहँदा आफू आमसञ्चारको कुन माध्यममा जाने हो, त्यस विषयमा विद्यार्थीलाई स्वनिर्णयको अधिकार दिँदै प्रयोगात्मक कक्षा तथा इन्टर्नसीपको व्यवस्था गरेको छ। 

ब्याचलर अफ मिडिया टेक्नोलोजी (बीएमटी)

सेर्फड कलेजको ३ वर्षे यो पाठ्यक्रम अध्ययन गर्ने नेपाली महिला विद्यार्थीको संख्या उल्लेख्य छ। ६ सेमेस्टरको यो कोर्स गरिसकेपछि क्रेडिट ट्रान्सफरमार्फत विद्यार्थीले विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पनि पाउँछन्। उक्त कलेजबाट मिडिया टेक्नोलोजीमा स्नातक गरेर स्वाधीनता बराल, सृष्टि शाक्य, सपना उपाध्याय, सुनीता सुवेदी, शैलजा श्रेष्ठ आदि क्रेडिट ट्रान्सफर पाएर अमेरिका अध्ययन गर्न गएका थिए। जसमध्ये सपना उपाध्यायले पूर्ण छात्रवृत्ति पाएर स्नातकोत्तर तह अध्ययन गरिरहेकी छिन्। बीएमटीअन्तर्गत पहिलो सेमेस्टरमा बेसिक प्रिन्सिपल अफ जर्नालिज्म एण्ड मास मिडिया, न्युज रिपोर्टिङ, ब्रोडकास्ट रिपोर्टिङ फस्ट, न्युज एडिटिङ, कम्प्युटर टेक्नोलोजी, नेपाली तथा अंग्रेजी अध्ययन गर्नुपर्छ। दोस्रो सेमेस्टरमा ब्रोडकास्ट जर्नालिज्म सेकेन्ड, इन्टरएक्टिभ मिडिया, ल एण्ड इथिक्स इन मिडिया, फोटो जर्नालिज्म, रिपोर्टिङ एण्ड राइटिङ, अंग्रेजी अध्ययन गर्नुपर्छ। त्यस्तै तेस्रो सेमेस्टरमा ब्रोडकास्ट जर्नालिज्म थ्री, मिडिया इस्युज, पब्लिक रिलेसन्स, मास मिडिया रिसर्च, अंग्रेजी तथा एड्भरटाइजिङ अध्यापन गराइन्छ। चौथो सेमेस्टरमा वेव डिजाइनिङ, इन्टिग्रेटेड मार्केटिङ कम्युनिकेसन एण्ड प्रोमोसन, मल्टिमिडिया सिस्टम, मिडिया एन्ड कम्युनिकेसन, सिनेमा तथा सोसियोलोजीको पढाइ हुन्छ। पाँचौं सेमेस्टर मिडिया म्यानेजमेन्ट, कम्प्युटर ग्राफिक्स एण्ड एनिमेसन, सोसियोलोजी सेकेन्ड, इनभाइरोमेन्ट एण्ड हेल्थ जर्नालिज्म, डेभलपमेन्ट जर्नालिज्म, एडभरटाइजिङ क्रिएटिभिटी एन्ड प्रोडक्सन तथा छैटौं सेमेस्टरमा मिडिया एण्ड रुरल टुरिज्म, टेलिभिजन वा रेडियोमध्ये एक, प्रेस कन्फरेन्स एण्ड सेमिनार म्यानेजमेन्ट, अप्लाइड रिपोर्टिङ, अप्लाइड एडिटिङ अध्ययन तथा  इन्टर्नसीप गरिन्छ। बीएमटी अध्ययन गर्न १ लाख ५० हजार रुपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्म खर्च लाग्छ। कलेजले पेसागत रूपमा काम गर्नेहरूलाई समेत लक्षित गरेर बीएमटी तथा एमएमटी कोर्स बिहान ७ बजेदेखि साढे १० बजेसम्म सञ्चालन गर्दै आएको छ। 

मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी)

२ वर्षे एमएमटीअन्तर्गत पहिलो सेमेस्टरमा प्रिन्सिपल अफ मास कम्युनिकेसन, प्रिन्सिपल अफ रिपोर्टिङ एण्ड एडिटिङ, ल एण्ड इथिक्स इन मिडिया, लेखन कला नेपाली तथा अंग्रेजी, आइटी एप्लिकेसन इन मिडिया, दोस्रो सेमेस्टरमा म्यानेजिङ द मिडिया, मार्केटिङ कम्युनिकेसन, डेभलपमेन्ट कम्युनिकेसन, इन्टरएक्टिभ कम्युनिकेसन, इन्टरनेसनल कम्युनिकेसन अध्ययन गर्नुपर्छ। तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थीले रेडियो, टेलिभिजन र प्रिन्ट जर्नालिज्ममध्ये एक विषय छनोट गरेर अध्ययन गर्नुपर्छ। रेडियो ब्रोडकास्टिङमा रेडियो ब्रोडकास्टिङ टेक्नोलोजी, रेडियो प्रोडक्सन टेक्निक, इभोलुसन अफ ब्रोडकास्टिङ मिडिया, राइटिङ फर ब्रोडकास्टिङ मिडिया, मास मिडिया रिसर्च पढ्नुपर्छ। त्यस्तै टेलिभिजन ब्रोडकास्टिङअन्तर्गत टेलिभिजन ब्रोडकास्टिङ, टेलिभिजन प्रोडक्सन टेक्निक, इभोलुसन अफ ब्रोडकास्टिङ मिडिया, राइटिङ फर ब्रोडकास्टिङ मिडिया, मास मिडिया रिसर्च तथा प्रिन्ट जर्नालिज्ममा प्रिन्टिङ टेक्नोलोजी, प्रिन्ट प्रोडक्सन टेक्निक, इभोलुसन अफ प्रिन्ट मिडिया, राइटिङ फर प्रिन्ट मिडिया, मास मिडिया रिसर्चको अध्यापन हुन्छ। एमएमटी अध्ययनका लागि करिब १ लाख ५० हजार खर्च लाग्छ।

उषा भट्ट , एमएमटी अध्ययनरत विद्यार्थी तथा सञ्चारकर्मी

तपाईं अध्ययनरत कलेजमा महिलाहरूको संख्या कस्तो छ ?

करिब ५० प्रतिशत महिला छन् र यो कोर्सप्रति धेरै महिलाले रुचि देखाएको पाइन्छ। कलेजले महिला, दलित र जनजातिको हकमा नेपाल पत्रकार महासंघको सिफारिसमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको तथा मेरिट बेस सिस्टममा पनि छात्रवृत्ति दिएको छ। अहिले मिडिया टेक्नोलोजीमा रुचि भएका महिलाहरू धेरै छन्। 

मिडिया टेक्नोलोजी नै किन पढ्ने ?

अहिले महिलाहरू पुरुषसरह आमसञ्चारको क्षेत्रमा कार्यरत छन्। अझ सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै विभिन्न स्थानमा रहेर एकल रूपमा क्यामरापर्सन प्लस रिपोर्टरको काम गर्न सक्छन्। आमसञ्चारको समयसापेक्ष ज्ञान तथा प्राविधिक पक्षका बारेमा पनि प्रयोगात्मक शिक्षण विधि अपनाइएकाले मिडिया टेक्नोलोजी पढ्नुपर्छ जस्तो लाग्छ। हाम्रो पुरानो शिक्षण प्रणाली बढी सैद्धान्तिक छ, तर व्यावसायिक मिडियालाई व्यवहारमुखी दक्ष जनशक्तिको खाँचो छ। 

मिडियामा काम गर्न टेक्नोलोजी जानेकै हुनुपर्छ र ?

हो, कतिपय अवस्थामा प्राविधिक ज्ञानबाहेक पनि पत्रकारिता वा आमसञ्चारको क्षेत्रमा काम गर्न सकिन्छ, तर अहिले समय यस्तो आइसक्यो, मिडियामा काम गर्ने सबैले कम्प्युटर टेक्नोलोजीका बारेमा ज्ञान लिनु आवश्यक छ। मैले पनि शंकरदेव क्याम्पसमा कमर्स अध्ययन गरेपछि इमेज एफएममा काम गरेकी थिएँ, तर बीएमटी अध्ययन गर्न थालेपछि मैले जान्नुपर्ने धेरै कुरा रहेछन् जस्तो लाग्यो। समाचारलाई हेर्ने दृष्टिकोण, समाचारको वर्गीकरण, व्यवसायीकरण, फरक सञ्चारमाध्यममा गर्ने कामको तरिका तथा अनलाइन समाचार प्रणालीका बारेमा प्रयोगात्मक ज्ञान लिएपछि मलाई सजिलो भयो। 

तपाईंले हालसम्म कहाँ-कहाँ काम गर्नुभयो ?

मैले २०५५ सालतिर मिडियामा करिअर सुरु गरेकी हुँ। त्यसक्रममा इमेज, रेडियो नेपाल, नेपाल टेलिभिजन, एभिन्युजमा काम गरें। हाल नेपाली टेलिभिजन युकेमा कार्यरत छु। मैले मिडिया टेक्नोलोजीमा स्नातक गरेपछि कसरी समाचार बनाउने भन्ने ज्ञान पाएँ, त्यसपछि करिअरलाई अघि बढाउन सजिलो भयो। त्यसैलेअहिले यो क्षेत्रमा विशेषज्ञ हुन एमएमटी अध्ययन गर्नुपर्ने आवश्यकता छ। 

मिडिया टेक्नोलोजीका अन्य विशेषता ?

कलेजले व्यवहारमुखी शिक्षा प्रणालीअन्तर्गत प्रयोगात्मक ज्ञानलाई महत्व दिएको छ। कलेजमै रेडियो स्टेसन, क्यामेरा, भिडियो क्यामेराहरूको व्यवस्था, एडिटिङ, वेव अफ्लोडिङ, पत्रिका निकाल्ने आदि मिलाएको छ। शिक्षा छ, तर त्यसको उपयोग कसरी गर्ने भन्ने ज्ञान भएन भने त्यसले करिअरमा सहयोग नगर्ने भएकाले अहिले विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यार्थीले सबै कुरा जान्ने गरी अध्ययन गर्ने सुविधा मिलाइएको छ।

(Source: NARI )