मानविकी बिषयको महत्त्व

2019-03-23

Dr Sanjeev Upreti


 डा. संजीव उप्रेती, काँकरभिटाको कला साहित्य उत्सव दौरान निक्कै घतलाग्दा छलफल चले । ‘लोकतन्त्र तथा आलोचनात्मक चेत’बारे हरि शर्माको प्रवचनबाट प्रारभ भएको महोत्सवमा समकालीन आख्यान, भूराजनीतिक चिन्तन, पर्यावरण, सांस्कृतिक राष्ट्रवाद, लोककला, मिडिया तथा जेन्डर लगायत विविध विषयमा चर्चा चले । म सहभागी भएको प्यानललाई सुप्रिया मानन्धरले प्रस्तुत गर्नुभएको थियो र डा. अमिना सिंह र डा. भाष्कर गौतम उक्त प्यानलका अन्य सहभागी हुनुहुन्थ्यो ।

अमिना सिंह तथा भाष्कर गौतमले शिक्षा पद्घति, समाजशास्त्र र शोध बारेका समस्याका ‘संकट’लाई जोडेर महत्त्वपूर्ण विमर्श गर्नुभयो । मेरो अध्ययन र अनुभव भने मानविकीसित जोडिएकाले त्यसकै वरिपरि रहेर आफ्ना कुरा राखेँ । यस लेखमा मानविकी बारेका समस्या वरिपरि नै केन्द्रित भएको छु ।

कुनै बेला केन्द्रीय अंग्रेजी विभागमा हरेक वर्ष एक हजारभन्दा बढी विद्यार्थी भर्ना हुन्थे । सेमेस्टर सिस्टम सुरु भएपछि अहिले प्रतिसेमेस्टर पचासजना जति हुन्छन् । केन्द्रीय नेपाली विभागमा यो वर्ष सातजना विद्यार्थीमात्र भर्ना भए भन्ने खबर छ । इतिहास विभागमा त झन् विद्यार्थी नै आउन छाडे भन्ने कुरो पत्रपत्रिका र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको थियो ।

यस बाहेक दर्शन, कला, साहित्य, भाषा—साहित्य र समाजशास्त्रका विभागमा नेपालमा मात्र नभई प्रायः संसारका अन्य मुलुकमा समेत विद्यार्थीे संख्या घटेका समाचार अनलाइनमा बग्रेल्ती पढ्न पाइन्छ । सायद यिनै तथ्यलाई मनन गरेरै आयोजकले प्यानलको र्शीषक ‘मानविकी र समाजशास्त्रका संकट’ राख्नुभएको थियो ।

मेरो विचारमा विषयलाई लक्षण (सिमटम) र रोग (डिजिज) को भिन्नतालाई बुझ्दै केलाउनु बडी उपयुक्त हुनेछ । अनिद्रा एउटा लक्षण हो भने निद्रा नलाग्नुले थाइराइड वा मुटु वा अन्य कुनै गम्भीर रोगतिर संकेत गरेको हुनसक्छ । यसरी बुझ्दा मानविकीका विभागहरूमा विद्यार्थी संख्या घट्नुलाई लक्षण वा समस्या (वा संकट) भन्ने हो भने अहिले देखिएको संकटको मूलरोग अरू नै केही हुनसक्छ । उक्त रोगलाई बुझ्न निम्ति मानविकीको इतिहासलाई संक्षेपमा केलाउन आवश्यक छ ।

ग्रीक तथा रोमन साम्राज्य दौरान रेटोटिक र ग्रामर नामको विषय पढाइन्थ्यो । उक्त विषयको उद्देश्य थियो, विद्यार्थीलाई शुद्घ भाषा लेख्न सिकाउनु र तिनलाई आलंकारिक भाषाका प्रयोग गर्दै राजनीतिक र नागरिक मुद्दाबारे सार्वजनिक बहसमा भाग लिन सक्षम बनाउनु । सार्वजनिक तथा राजनीतिक वृत्तको यस किसिमको आमअभ्यास लोकतन्त्रको प्रारम्भिक उदाहरण थियो ।

तर समस्या जरैमा थियो । आलंकारिक भाषाको दक्षतामार्फत सार्वजनिक छलफलमा सहभागी हुने हक मध्यम र उच्च वर्गका, जमिनमा स्वामित्व भएका पुरुषहरूलाई मात्र थियो । महिला तथा दास वर्ग उक्त ‘लोकतान्त्रिक’ छलफलबाट बहिस्कृत थिए । अर्को शब्दमा भन्दा भाषा—साहित्यको शिक्षण लोकतन्त्रसित जोडिएको थियो । तर त्यो लोकतन्त्र अर्कै भने केही वर्ग र व्यक्तिका लागिमात्र थियो ।

सत्रौं र अठारौं शताब्दीलाई युरोपमा ‘पुनर्जागरण’ तथा ‘तार्किकताको युग’को रूपमा मानिन्छ । यस युगमा दर्शन तथा भाषा—साहित्य बारेका शिक्षण र पठन प्रक्रिया मानवतावादका आदर्शसित जोडिन पुगे । संसारभरि छरिएका मानवको साझा मानवता के हो ? मानव तथा सम्पूर्ण ब्रह्मान्ड (र, त्यसमा निहित ‘वैज्ञानिक’ र तार्किक ज्ञानबीच) के कस्तो सम्बन्ध छ आदिजस्ता कुरा भौतिक विज्ञानले मात्र नभई कला, साहित्य दर्शनले समेत उजागर गर्न सक्छ भन्ने सोच फैलियो ।

त्यसै अनुरूप अठारौं शताब्दीमा उदय भएका राष्ट्र/राज्यहरूले विश्वविद्यालय र अन्य शैक्षिक संस्थाका मानविकी विभागहरू निम्ति पैसा छुट्याउन थाले । दर्शन, साहित्य, कलाको अध्ययन, अध्यापनमा पनि रुचि बढ्दै गयो । ग्रीक तथा रोमन साम्राज्यकै समयदेखि चल्दै आएको मानविकीको समस्या नयाँ स्वरूपमा देखापर्‍यो । जसरी ग्रीसका ‘लोकतान्त्रिक’ अभ्यासमा नारी र भूमिहीनहरूको सहभागिता थिएन, नयाँ ‘तार्किक’ युरोपमा पनि महिला र अन्य वर्ग र जातिका पनि ‘मानवता’को खाकाभित्र पर्न सकेनन् । युरोपेली राष्ट्र/राज्यहरूका कर्मकाण्ड पितृसत्तामक संरचना र मानसिकताबाटै निर्देशित रहे भने महिलाले मत दिने अधिकार पाउन दुई सय वर्ष अझै कुर्नुपर्‍यो ।

मध्य र उच्च वर्गका युरोपेलीहरू सेलोन र कफी हाउसमा मानवतावादबारे छलफल गरिरहँदा उक्त छलफलको ‘आर्थिक आधार’ अफ्रिका, एसिया तथा दक्षिण अमेरिकामा फैलिएको औपनिवेशवाद तथा दास प्रथाले कसरी निर्माण गरेको छ भन्ने बारेका तथ्य तथा तथ्यांकबारे ‘तार्किक छलफल’ हुन सकेन ।

साथै ‘मानव सभ्यता’ र मानवका निम्ति सहरहरू बनाउँंदा प्रकृति र अन्य जीवको कस्तो दोहन भइरहेछ भन्ने पनि छलफलमा आएन । युरोपेली तार्किकताले मानवतालाई बडो सीमित ढंगले परिभाषित गर्‍यो । मानवतावाद ‘मानव’ हटाउंँदै गयो, खालि मानवतावादको ‘वाद’मात्र बाँकी रह्यो । जसको केन्द्रमा केही विशिष्ट वर्ग र लिङ्गका मानव थिए ।

बीसौं शताब्दीका दुई मुख्य विश्वयुद्घ र त्यसपछि पुँजीवादी पश्चिम र सोभियत शैलीको साम्यवादबीच चलेको शीतयुद्घ दौरान पश्चिममा मानविकीका नयाँ उपयोगबारे छलफल भयो । एउटा मत थियो– दर्शन तथा भाषा—साहित्यले मानव भित्रका नैसर्गिक प्रजातान्त्रिकमूल्य र मानवीयताको विकास गराउँछ । यसै विचारअनुरूप मानविकी विभागहरूको कोष थपियो, प्राध्यापक र विद्यार्थी दुवैका संख्या बढ्न थाले । पुँजीवादी पश्चिम मानविकीलाई प्रजातन्त्रसित जोड्दै साम्यवादी ‘खतरा’संँग भिड्न तयार भयो ।

सन् १९८९ मा बर्लिन पर्खालको विघटन तथा शीतयुद्घको समाप्तिपछि भने मानविकीको नयाँ संकट देखापर्‍यो । पर्खालको विघटनलाई पुंँजीवादी प्रजातन्त्रको विजय र साम्यवादको हारको रूपमा अर्थ्याइयो । यस किसिमको बुझाइले मानविकीका विभागहरूको महत्त्व कम गर्‍योे । अब साम्यवादी विचारको प्रतिरोधमा प्रजातन्त्रलाई सशक्त बनाइरहनुपर्ने आवश्यकता रहेन । पश्चिमी शैलीको बजार व्यवस्थाको विश्वब्यापीकरण भइसकेको छ र प्रजातन्त्रको मर्मलाई उदारवादी बजार व्यवस्थाभित्रै संस्थागत गर्न सकिन्छ भन्ने सोच्न ब्यापक हुँदै गयो ।

यस किसिमको सोचका केही परिणाम गएका पच्चीस, तीस वर्षभित्र चुलिँदै आएका छन् । तीमध्ये एउटा परिणाम हो– उपभोक्ता संस्कृति (कन्जुमर कल्चर) को विश्वव्यापी विजय यात्रा र अर्को हो उपयोगितावाद (युटिलिटेरियानिजम) को विश्वव्यापी फैलाउ ।दर्शन, अध्यात्म र साहित्यका विद्यार्थीलाई सभ्यताको प्रारम्भदेखि नै घचघचाइरहने एउटा प्रश्न छ– म को हुँ ? धार्मिक विश्वदृष्टिले निर्देशित समाजमा यस प्रश्नको जवाफ प्रायः यसरी आउंँछ– म एक आत्मा हुँ ।

अथवा हिन्दु, मुस्लिम, क्रिस्चियन वा बौद्घ हुँ । राष्ट्रियताको भाष्यको जगमा उभिएर त्यही प्रश्नको जवाफ दिंँदा कसैले भन्लान्–म नेपाली, भारतीय, अमेरिकन वा जर्मन आदि हुँ । मानवतावादको संकथनको धरातलमा उभिएर जवाफ दिँदा भन्न सकिएला– म अरू केही नभएर मात्र एक मानव हुँ ।

उपभोक्तावादको जगजगी फैलिँंदै गएको अहिलेको अवस्थामा उक्त आद्य प्रश्नको उत्तरमा ‘म आइफोन टेन प्रयोग गर्ने व्यक्ति हुँ’ वा म ‘फलानो ब्रान्डको टाइसुट लाउने वा फलानो मोडलको मोटरसाइकल वा कार चढ्ने व्यक्ति हुँ’ भन्नेहरू देखापर्न थालेका छन् । अर्को शब्दमा भन्दा उपभोगले नै मानिसको परिचयलाई परिभाषित गर्ने प्रक्रिया संसारभरि बढ्दै जाने देखिन्छ ।

उपभोक्तावादको विजय यात्रामा उपयोगितावाद पनि मिसिएको छ । कुन किसिमको शिक्षा आर्जन गर्दा वा सीप सिक्दा आफूलाई बजारमा सफल कर्ताका रूपमा उभ्याउन सकिन्छ भन्ने चेतना विद्यार्थीमा बढ्दै गएको छ । कम्प्युटर साइन्स वा जीवविज्ञान पढ्दा आफ्नो सीपलाई बजारमा बेच्न बढी सजिलो हुन्छ । किनकि यी विषयहरूसित जोडिएको ज्ञान र सीप बजारका लागि बढी आवश्यक छ ।

आधुनिक संसारमा लगातार प्राविधिक परिवर्तन भइरहेछन् । यस प्राविधिक युगमा कम्प्युटर साइन्स, जीवविज्ञान, तथ्यांक शास्त्र लगायतका विषयको महत्त्व पक्कै बढेको छ । त्यसैले यी विषयमा पक्ष भएरपैसा कमाउनु र आफ्नो जीवनशैली उकास्नखोज्नु स्वाभाविक इच्छा हो । यसैले गर्दा पनि दर्शन, भाषा–साहित्य र समाजशास्त्रका विभागहरूमा विद्यार्थीको संख्या घटिरहेको हुनसक्छ ।

मैले अघि नै भने अनुसार विद्यार्थीको संख्या घट्नु रोगको लक्षणमात्रै हो । रोग अर्कै छ । रोग हो– शीतयुद्घको समाप्तिपछिको विश्वव्यापी राजनीतिक, आर्थिक, सांस्कृतिक परिवेशमा मानविकीले आफ्नो प्रकृति र उद्देश्यलाई नयाँ ढंगले परिभाषित गर्न नसक्नु ।कांँकडभिटा कला–साहित्य महोत्सव दौरान धरानको बीपी मेडिकल कलेजका विद्यार्थीहरू पनि आउनुभएको थियो । उहाँहरूले भन्नुभयो–हामीले चिकित्सा विज्ञानबाहेक समाजशास्त्र र साहित्यबारे पनि पढ्नुपर्छ ।

चिकित्साशास्त्र, कानुन, व्यापार लगायतका अन्यउपयोगी क्षेत्रका विद्यार्थीले पनि दर्शन, साहित्य, कला समाजशास्त्रबारे जानकारी राख्नुपर्छ भन्ने चेतना गएको दस–पन्ध्र वर्षमा बढ्दै गएको देखिन्छ । डाक्टर वा वकिललाई साहित्य वा दर्शनबारे जानकारी छ भने ऊआफ्ना ‘क्लाइन्ट’प्रति बढी संवेदनशील हुनसक्छ र त्यसै कारणले गर्दा बढी राम्रो डाक्टर वा वकिल बन्न सक्छ भन्ने मान्यता प्रचलनमा आउँंदैछ । उपभोक्ता संस्कृतिको समसामयिक युगमा मानविकी र समाजशास्त्रका नयाँ उपयोगिता खोज्ने क्रमलाई यस किसिमको चेतना र मान्यताले सघाउ पुर्‍याउनेछ ।

मानविकी र (समाजशास्त्रको) क्षेत्रमा देखापरेको लाक्षणिक संकटलाई मात्र नभएर यसको जरामा रहेको रोगकै निदान खोज्ने हो भनेचाहिँ यस विषयमा अझै गम्भीर भएर सोच्नुपर्छ ।समसामयिक युगमा दर्शन, भाषा–साहित्य र अन्य मानविकीको किन आवश्यकता छ ? किनकि मानविकीले मानिसमा आलोचनात्मक चेतको विकास गर्छ । यसको मतलब जीवविज्ञान वा भौतिक विज्ञानजस्ता क्षेत्रमा आलोचनात्मक चेतको आवश्यकता हुँदैन भन्ने होइन ।

तर मानविकीमा प्रयोग हुने चेतको प्रकृति भिन्न हुन्छ । विज्ञानमा प्रायः गरेर आलोचनात्मक चेत आफू बाहिर निर्देशित हुन्छ– उक्त चेतले तथ्यांक केलाउँछ, तथ्यांक र तथ्य परिवर्तित भएको अवस्थामा आफ्नो सैद्धान्तिक मोडल पनि परिवर्तित गर्दै लैजान्छ । मानविकीले भनेबाह्य जगतलाई मात्र नभएर आफ्नै आन्तरिक सोचलाई बारम्बार प्रश्न गरिरहने, आफैलाई दोहोर्‍याएर हेरिरहने फरक किसिमको चेतको विकास गर्न मद्दत गर्छ । 

यस किसिमको आलोचनात्मक चेतको आवश्यकता मानवता र लोकतन्त्र दुवैलाई छ ।एक दृष्टिले बुझ्दा ‘मानवता’ र ‘लोकतन्त्र’ दुवै अमूर्त धारणा हुन् । न हामीले बजारमा मानवताको टोपी लगाएको कुनै व्यक्ति वा वस्तुलाई भेट्न सक्छौं न गाउँ–सहरका गल्ली–सडकमा ‘लोकतन्त्र’को कपडा लगाएको कुनै व्यक्ति, सत्ता वा स्वरूपलाई । मानवता र लोकतन्त्र दुवै संसारभरि बाँचिरहेका नरनारीका विचार र व्यवहारमार्फत नै व्यक्त हुन्छन् ।

त्यसैले हरेकले आफैलाई दोहोर्‍याएर हेर्ने, परिवर्तनको निम्ति तयार रहने, आफ्नै विचारका सीमालाई प्रश्न गरिरहने किसिमको आलोचनात्मक चेत विकास हुनसके मात्र मानवता र लोकतन्त्रका परिधि फराकिला हुँदै जानेछन् । लोकतन्त्रका नयाँ परतहरू उघ्रिँदै जानेछन् । लोकतन्त्र र मानवताको परिधिमा केही विशेष जात, वर्ग, लिङ्ग र भूगोलका मानिसमात्र हुने छैनन् । सबै समाहित हुँदै जानेछन् । मानवले मानव केन्द्रित विश्वदृष्टि त्यागेर पशुपन्छी र प्रकृतिबारे पनि सोच्न थाल्नेछन् ।

अर्को सम्भावना पनि छ– उपभोक्ता संस्कृतिको रमझम र रमरममा आफैलाई बिर्सेर आलोचनात्मक चेत हराएका मानव झन्–झन् आत्मकेन्द्रित र स्वार्थी बन्दै जानेछन् । प्रकृतिको विनाश बढ्नेछ । लोकतन्त्रको क्षितिज खुम्चनेछ । अर्कार्लाई पछारेर आफू ठूलो भइरहने दंगली मानसिकताले अझै ब्यापकता पाउनेछ । मानिस त्यसबेला पनि लगातार दौडिरहेकै हुनेछन्, किनकि छेउछाउका सबै दौडिरहेकै हुनेछन् । तर दौडेर पुग्ने कहाँ भनेर सोच्ने चेतसमेत बजारको रमझममा धुमिल हुँदै जानेछ ।

दर्शन, साहित्य, कला, समाजशास्त्र आदिजस्ताविषयले मानिसलाई त्यस दैनिक दौडादौडी र दंगली मानसिकताबाट केही समयमात्र भए तापनि बाहिर निस्केर आलोचनात्मक ढंगले सोच्न ‘क्रिटिकल स्पेस’ दिन्छन् । त्यसैले तिनले मानवता र लोकतन्त्रका परिधिलाई लगातार फराकिलो बनाउँदै लैजानसमेत मद्दत गर्छन् । मानविकीको महत्त्व यसैमा छ ।

Source :कान्तिपुर दैनिक